मनोज बनैता/ लहान : ताईवानी संस्था चु जी फाउन्डेसनद्वारा सिरहाको सखुवानन्कारकट्टीमा राहत वितरण जारी छ ।
५ वडा भएको उक्त गाउँपालिकाले दिनैपिच्छे १र१ वडा गरि जम्मा ५ दिनमा राहत वितरण कार्य सम्पन्न गरि सक्ने भन्दै पालिकाका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए । दलित सरोकार नेपाल सप्तरीको सहकार्यमा सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर ५ बाट राहत वितरण कार्यक्रम सुरु गरेका थिए ।
गाउँपालिकाका जम्मा १ हजार २३४ दलित घरपरिवारलाई राहत वितरण गर्ने योजना रहेको यादवले बताए । राहत वितरण मर्यादित एवं पक्षपात रहित होस् भन्दै नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता एवं सिरहा कार्य समितिका अन्य पदाधिकारीको रोहवरमा शुरु गरिएको गापा अध्यक्ष यादवले जनाए ।
राहत स्वरुप चामल २५ किलो, गहुँको पिठो १० किलो, १ किलो चना, १ किलो मसुर दाल, १ लिटर खाने तेल, १ किलो नुन, ६ वटा नुहाउने साबुन लगायतका राहत पाएका गाउँ पालिका स्रोतले जनाएका छन् ।
बिगत ७ महिना देखी कोरोनाको कहरमा परेका बिपन्न परिवारलाई हात मुख जोडन समस्या भएको स्थानीयको भनाई छ । सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार नाथ यादवको अथक प्रयास एवं पहलमा चु जी संस्थाले उक्त गाउँपालिकाका जम्मा १२३४ घर परिवारलाई राहत वितरण थालिएको स्थानीयको भनाइ रहेको छ ।
चु जी संस्था सम्बद्ध दलित सरोकार मन्च कंचनपुर सप्तरीका सदस्य एवं सखुवानन्कारकट्टीका कोर्डिनेटर अजय कुमार रामको अनुसार लामो लकडाउनले बेरोजगारी गुमाएका कारण दलित समुदायलाई हात मुख जोड्न समेत कठिनाइ भोग्नु परेको छ । रामले दलितको कहालीलाग्दो अवस्थालाई मनन गर्दै यस प्रकारको राहत योजना ल्याएको बताए ।
चु जी संस्थाले दिएको राहत कार्यक्रमलाई औचित्यपूर्ण बनाउन सखुवानन्कारकट्टीका अध्यक्ष केदारनाथ यादवले खाद्यान्न ढुवानी तथा वितरण गर्ने जनशक्ति गापा स्तरबाटै ब्यवस्थापन गरिएको जानकारी प्राप्त भएको छ ।