टुडेखोज/ रौतहट : प्रहरी हिरासतमा यातनापछि मृत्यू भएका विजय राम प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्षीय युवक विजयरामको हिरासतमा मृत्यु भएको घटनामा तत्कालिन एसपी खड्कासहित तत्कालिन इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतो, प्रहरी निरीक्षक नविन कुमार सिंह, प्रहरी नायब निरीक्षक विरेन्द्र यादव र हवल्दारद्धय मुन्ना सिंह र फिरोज धुनियाविरुद्ध मुर्दा दर्ता भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयमा बुधबार विजयरामको बुबा पनिलला महराचमारले यातना तथा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको जिल्ला न्यायधीवक्ता सुवास कुमार भट्टराईले जानकारी दिए । प्रहरी उपरीक्षक खड्कालाई १८ भदौमा रौतहट प्रहरी प्रमुखको जिम्मेवारीबाट खोसेर प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । खड्को ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई पठाइएको छ ।
इप्रका गरुडाको प्रमुखको जिम्मेवारी खोसेर डीएसपी महतोलाई तानिएको छ । इन्सपेक्टर सिंह र हवल्दारद्वय सिंह र धुनियालाई ६ महिनाको लागि गृह मन्त्रालयले भदौं १६ गतेमै निलम्बन गरेको थियो ।
गरुडा नगरपालिका वडा नम्बर ८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजय रामलाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमै यातना दिएपछि गम्भीर अवस्थामा उपचारका लागि वीरगञ्ज नेशनल मेडिकल कलेजमा पठाइएको थियो । उनको अस्पतालमै उनको मृत्यु भएको थियो ।
१९ वर्षीय विजयको शरीरभरि निलडाम र घाउचोट भेटेपछि परिवारले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् । विजयलाई हिरासतमा हत्या स्वीकार गर्न चरम यातना दिएको पीडित परिवारको आरोप छ ।