काठमाडौं : बुद्ध एयरको लापरबाहीका कारण शुक्रबार अपराह्न जनकपुरका लागि काठमाडौँबाट उडेका यात्रुहरु पोखरा पुगेका छन् ।
कुनै मौसमको खराबी वा जहाज डाइभर्ट गर्नु परेकाले जनकपुर हिँडेका यात्रुहरु पोखरा पुगेको नभई एयरलाइन्सको लापरबाहीका कारण यस्तो भएको हो । अचानक पोखरा विमानस्थल उत्रँदा यात्रुहरु छक्क परेका थिए ।
त्रिभुवन विमानस्थलका बुद्ध एयरका कर्मचारीहरुको लापरबाहीका कारण जनकपुर पठाउनुपर्ने यात्रुहरुलाई उनीहरुले पोखराको जहाजमा चढाएका थिए । यद्यपि यसबारे यात्रु, पाइलट तथा परिचारिकाहरुले कुनै सुइँको पाएनन् ।
जनकपुर र पोखराको एकै समय परेको उडानमा यस्तो घटना भएको बुद्ध एयरका एक कर्मचारीले जानकारी दिए ।
अपराह्न चार बजे पोखरा विमानस्थलमा अवतरण भएको जहाजका सबै यात्रुहरु जनकपुरका लागि रहेको थाहा पाएपछि बुद्ध एयरका कर्मचारीहरु छक्क परेका थिए ।
उक्त जहाज नै पछि काठमाडौँ हुँदै जनकपुर पठाइएको थियो । – देशसंचार