पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गर्न गरेको गरेको विरुद्ध पोखरामा नेकपाकै युवा विद्यार्थी आन्दोलित भएका छन् ।
नेकपाको भ्रातृ संस्था अनेरास्ववियु र राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले आइतबार पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । पुत्ला जलाएपछि आयोजित विरोध सभामा बोल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटाले प्रधानमन्त्री ओलीले आन्दोलनको आँधी सामना गर्न तयार हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले सिफारिस गरेको संसद विघटन प्रस्ताव संवैधानिक ‘कू’ भएको उनले बताए । विगतमा आन्दोलनकै बलबाट राजा महाराजा फालेको भन्दै उनले ओलीलाई पनि आन्दोलनबाटै फाल्ने चेतावनी दिए ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य पूर्ण लामाले प्रधानमन्त्री ओलीकै कारण सरकार र नेकपा बदनाम भएको बताए । ओलीको स्वच्छाचारी शैली नसच्याए आन्दोलनको बलबाट सच्याउने र पार्टीबाट कारबाही हुने उनको भनाइ छ ।
यस्तै, नेकपाका प्रचण्ड–नेपाल पक्षका विद्यार्थी र समाजवादी विद्यार्थी युनियनले पृथ्वीनारायण क्याम्पस गेटमा पनि प्रधानमन्त्री ओलीको पुत्ला जलाएका छन् । पुत्ला जलाउने र टायर बाल्ने क्रममा केहीबेर प्रहरीसँग तनाव भएको समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईंले बताए ।
– सेतोपाटी