कतिपय मानिसको बच्चैदेखि खरी ढुंगा वा माटो खाने बानी हुन्छ । कतिपय मानिसले चाहीँ डिप्रेसन वा विभिन्न खाले मानसिक समस्याका कारण पनि यस्ता अनावश्यक चिजहरु खान्छन् ।
भारतको पश्चिम बंगालस्थित गोबरडाँगामा बस्ने ४८ वर्षका प्रदिप ढाली नामका व्यक्तिचाहिँ माटो ढुंगा मात्र होइन फलामका किलाहरु समेत खाने बानी रहेछ ।
त्यहीँ खतरनाक बानीका कारण उनको पेटमा ६३९ वटा फलामे किला थुप्रिए ।
पेटमा फलामे किला थुप्रिएपछि उनलाई असह्य दुखाइ महसुस भयो । त्यसपछि उनी कलकत्ताको अस्पतालमा उपचारका लागि पुगे । जब डाक्टरहरुले उनको चेकजाँच गरे तब डाक्टरहरुको होसहवास उड्यो । ती व्यक्तिको पेटमा त फलामका ६३९ वटा फलामे किला रहेछन् ।
कोलकाता मेडिकल कलेजको शल्यक्रिया विभागले डेढ घण्टाको शल्यक्रिया पश्चात् ती व्यक्तिको पेटमा रहेका ६३९ वटा फलामे किला निकालेको छ । डाक्टरहरुले पेटबाट फलामे किला निकाल्नका लागि चुम्बको प्रयोग गरेका थिए । पेटमा रहेका ती किलाहरु निकै तिखा थिए ।
ती व्यक्तिमा डिप्रेसनको समस्यासमेत रहेको र मानसिक समस्याकै कारण माटोसँगै किलासमेत खाने गरेको बताइएको छ । तर उनको त्यस्तो खतरनाक बानीका बारेमा घरपरिवारलाई समेत थाहा थिएन ।
धन्न त्यतिधेरै तिखा किलाहरु खाँदा पनि उनको पेटमा कुनै गम्भीर असर परेको भने देखिएन । डाक्टरहरुले पेटमा क्षति नपुर्याउने गरी चुम्बकले किला निकाल्न सफल भए ।
– एजेन्सीको सहयोगमा