काठमाडौं : बागमती प्रदेशको तीनजना मन्त्रीले राजीनामा दिएका छन् । शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएको कानुनमन्त्री जमकट्टेलले जनाकारी दिए ।
उनका अनुसार प्रदेशसरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराएको छ । पुस ५ गते संसद् विघटन भएपछि त्यसविरुद्ध नेकपामै दुई गुट देखिएका छन् । त्यसको असर केन्द्रदेखि प्रदेशसम्म पर्न थालेको छ ।
यता, प्रचण्ड-नेपाल पक्षले आज काठमाडौँको माइतीघरबाट आन्दोलन शुरु गरेको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागी भएका छन् ।
प्रचण्ड-नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरु र निवर्तमान सांसदहरु माइतीघरको प्रदर्शनपछि आजै १२ बजे निर्वाचन आयोग जाने कार्यक्रम छ । निर्वाचन आयोग पुगेर आफू वैधानिक नेकपा भएको र आफूहरूसँग बहुमत रहेको प्रमाणित गर्ने मंगलबार र बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आयोगमा जाने निर्णय गरेको थियो ।