डडेल्धुरा : प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश २ ले लुम्बिनी प्रदेशलाई ७८ लक्ष्य दिएको छ ।
दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७७ रन बनायो । उसका लागि साना प्रविन र अनुराधा चौधरीले समान २१/२१ रन बनाइन् ।
यस्तै, विमला मगरले १० रन जोड्दा रोजी कडारी १ रनमा अविजित रहिन् । बाँकी खेलाडीहरूले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा लुम्बिनीकी सुस्मिता भुसालले सर्वाधिक ३ विकेट लिइन् । चार ओभरमा मात्र १० रन खर्चेर ३ विकेट झारेकी हुन् ।
यस्तै, स्वस्तिका बजागाईं, नेरी थापा मगर र गीता गोसाईले एक–एक विकेट लिए । प्रदेश २ को प्लेइङ–११ मा सरस्वती चौधरी (कप्तान), शोभा आले (उपकप्तान), सन्तोषी चौधरी, आरती चौधरी, कविता गौतम, अनुराधा चौधरी, विमला मगर, रोजी कडारी, गोमा आले, मेलिना रायमाझी, र साना प्रविन छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशको प्लेइङ–११ मा नेरी थापा मगर (कप्तान), सरस्वती पुन (उपकप्तान), गीता गोसाई, स्वस्तिका बजागाईं, सरस्वती घर्तीमगर, लक्ष्मी चौधरी, सर्मिला रोका मगर, कृतिका मरासैनी, वर्षा राना, नितु भण्डारी, र सुस्मिता भुसाल छन् ।