गैरसांसदको रूपमा मन्त्री भएकाहरू यसरी गर्दैछन् शाही मन्त्रीकै शैलीमा स्वागत ग्रहण
 


काठमाडौं : राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि गठन गरेको सरकारका ‘शाही मन्त्री’हरू स्वागत थाप्न र राजाको कमदको पक्षमा जनमत बनाउन देश दौडाहामा निस्केका थिए ।

उस्तै, झल्को दिनेगरी अहिले काम चलाउ सरकारका मन्त्रीहरू पनि देश दौडाहामा निस्केका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि मन्त्रिपरिषद् हेरफेर गरेका छन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ भने केही नयाँ मन्त्रीहरू नियुक्त भएका छन् ।

कतिपय विघटित संसद्का सदस्य पनि छैनन् । उनीहरू अहिले देश दौडाहामा निस्केर शाहीमन्त्रीहरूजस्तै जिल्ला–जिल्लामा स्वागत थापिरहेका छन् । सँग–सँगै प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने कदमको बचाउ गर्दै भाषणा दिइरहेका छन् ।

सिन्धुपाल्चोक २ ‘ख’ बाट प्रदेश सभाको चुनाव हारेका दावा तामाङ काम चलाउ सरकारका युवा तथा खेलकुदमन्त्री बनेका छन् । उनले पनि शनिबार गृहजिल्ला सिन्धुपाल्चोकमा फूलमाला र खादाले स्वागत पाएका छन् ।

केही नेता र कार्यकर्ताको स्वागत थापे पनि उपप्रधानमन्त्री ईश्वर पोखरेललाई लिएर गृहजिल्ला पुगेका तामाङलाई युवा संघ र अनेरास्ववियुले कालो झन्डा देखाएर विरोध जनायो । कोठेदेखि खाडीचौरसम्म मन्त्रीद्वयविरुद्ध नाराबाजी भएपछि बाटोमा कर्ही ओर्लेनन् ।

महिला, बालबालिका तथा ज्येष्ट नागरिकमन्त्री जुलीकुमारी महतो केही दिनदेखि गृहजिल्ला धनुषामा छिन् । २१ पुसमा जनकपुर आएकी मन्त्री महतोको स्वागतमा उनका श्रीमान् रघुवीर महासेठसहित कार्यकर्ताहरू जनकपुर विमानस्थल पुगेका थिए ।

विमानस्थलमै एक सय एक किलोको फूलको मालाको स्वागत पाएर महतो दंग थिइन् । त्यसपछि उनी ओली समूहले जनकपुरस्थित प्रादेशिक कार्यालयमा आयोजना गरेको बृहत् जिल्ला कार्यकर्ता भेलामा सहभागी भइन् । त्यहाँ पनि उनलाई फूलमालाले स्वागत गरियो ।

त्यसयता उनी आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको पुलको शिलान्यास, उद्घाटन तथा पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेकी छिन् । पाँच दिनमा मन्त्री महतोले धनुषा र महोत्तरीका ६ वटा पुलको शिलान्यास र चारवटा पुलको उद्घाटन गरेकी छिन् ।

सहरी विकासमन्त्री भएपछि गृहजिल्ला पुगेका प्रभु साहलाई फूलमालाले स्वागत गरिएको छ । केही दिनयता जिल्लाका विभिन्न कार्यक्रममा सह भागी भइरहेका उनी स्वागत थाप्नमै व्यस्त छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त भएपछि गृहजिल्ला अर्घाखाँची पुगेका टोपबहादुर रायमाझीलाई नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । उनले अन्य मन्त्रीले जस्तो विरोधको सामना गर्नु परेको छैन ।

नेकपा ओली समूहको राम्रो प्रभाव रहेको अर्घाखाँचीमा मन्त्री रायमाझीको स्वागत गर्न मोटरसाइकल -याली निकालिएको थियो । उनी जिल्लाका ६ वटै स्थानीय तहमा पुगेका छन् । स्थानीय तहमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनको भव्य स्वागत गरिएको छ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले मन्त्री नियुक्त भएपछि पहिलोपटक गत १७ पुसमा गृहजिल्ला डोटी पुगे । सिलगढी पुग्दा मन्त्री आलेको गाडीको पछाडि दर्जनभन्दा बढी गाडीको लस्कर थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी पनि यतिवेला गृहजिल्लामा छन् । उनी जिल्लाका विभिन्न कार्यक्रममा स्वागत थापिरहेका छन् ।

बुधबारबार भने उनकै निर्वाचन क्षेत्रमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालोझन्डा देखाएका छन् । भजनी नगरपालिका जाने क्रममा पूर्व–पश्चिम राजमार्गको घोडाघोडी नगरपालिकास्थित सुक्खड बजारमा कालोझन्डा देखाइएको हो ।

नयां पत्रिका

प्रकाशित : २०७७ पुष २६, आईतवार ०८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ