प्रदेश १ : मुख्यमन्त्री, तीन मन्त्री, सचेतक र तीन सांसदलाई निलम्बन गर्न सिफारिश


विराटनगर : नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित आठ सांसदलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।

नेकपाको मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीन जना सांसदहरुलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो । यससम्बन्धी जानकारी आइतबार प्रदेश सभा सचिवालयलाई दिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

प्रदेश सभा सचिवालयलाई दिएको जानकारीमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई निलम्बनका लागि सिफारिश गरेको छ। त्यस्तै, प्रदेश सभा सदस्यहरु इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको जनाएको छ ।

नेकपा संसदीय दलका नेता भीमप्रसाद आचार्यले बुधबार मुख्यमन्त्री शेरधन राईसहित आठ जनालाई संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टीको हितविपरीत काम गरेको भन्दै २४ घन्टे स्पष्टीकण सोधेको थियो । स्पष्टीकरण सोधेको चार दिनपछि निलम्बन गर्ने निर्णय गरिएको जनाएको छ ।

यस अघि पुस १२ गते नेकपाका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । पुस १५ गते मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई चयन गरिएको थियो ।

प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गतेदेखि सुरु हुँदै छ । यो अधिवेशनमा मुख्यमन्त्री राईलाई हटाउने तयारी गरिएको छ । प्रदेश सभामा प्रचण्ड–नेपाल समूहको बहुमत रहेको छ ।

प्रकाशित : २०७७ पुष २८, मंगलवार १०:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ