कैलाली : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले टीकापुर घटनाको दोषी रेशम चौधरी नभएको बताएका छन् । धनगढीमा प्रेस संगठन नेपाल सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधनमा यस्तो बताएका हुन् ।
‘रेशम चौधरीलाई थुनिएको छ तर दोषी बाहिर छन्’, उनले भने, ‘हामीलाई शंका छ ।’ मन्त्री भट्टले नेपालमा ठूला–ठूला घटनाको प्रतिवेदन बाहिर नआउने भएकाले टीकापुर घटनाका दोषी पनि बाहिर रहेको जिकिर गरे ।
तर अदालतले टिकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय सुनाएको छ । उनी हाल जेल जीवन विताउन बाध्य छन् ।
कार्यक्रममा उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विक्षिप्त बन्दै गएको आरोप लगाए । संस्कारविहीन बन्दै गएपछि प्रचण्डले जे मन लाग्यो त्यही बोल्ने गरेको मन्त्री भट्टको तर्क छ ।