काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले बुधवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रू. २ ले वृद्धि गरेको जानकारी दिएको छ । निगमको सञ्चालक समितिको मंगलवार बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।
समायोजित मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर रू. ११२ र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रू. ९५ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर रू. १ हजार ४०० पुगेको छ । निगमले प्रति सिलिन्डर रू. २५ मूल्य बढाएको हो ।
खाना पकाउने ग्यासको भाउ एक वर्षपछि बढेको हो भने हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमले जानकारी दिएको छ ।