जनकपुरधाम : आज विद्याकी देवी सरस्वतीको पूजा देशभर धुमधामका साथ मनाइंदैछ । वसन्त पञ्चमी पनि भनिने यस दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास छ ।
आजका दिन लेखपढ गर्न सिकाए विद्या र बुद्धि बढ्ने जनविश्वास छ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘बसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । साना बालबालिकालाई आजकै दिनदेखि विद्यालय पठाउने, अक्षरारम्भ गराउने र नाक, कान छेडिदिन चलन छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् ।
सिरहा र रौतहट प्रशासनले सरस्वती पूजाको अवसरमा डिजे बाजामा प्रतिबन्ध लगाएको छ । साथै पूजाको नाममा विद्यार्थी र अभिभावकबाट चन्दा नलिन तथा मूर्ति विसर्जनमा विद्यार्थीको प्रयोग नगर्न पनि प्रशासनले निर्देशन जारी गरेको छ ।
धनुषामा भने डिजे बाजा बजाएर धुमधामसंग सरस्वती पूजा मनाइंदैछ । यहांका प्रशासनले कुनै सूचना जारी गरेका छैन ।