अस्ट्रेलियाको संसदमै भयो बलात्कार, प्रधानमन्त्री मरिसनले मागे माफी


काठमाडौं : अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलियाको संसदमा एक महिला कर्मचारीमाथि भएको बलात्कारको घटनामा माफी मागेका छन् ।

२६ वर्षकी पूर्व कर्मचारी ब्रिटानी हिगिन्सले सन् २०१९ मा आफूमाथि सत्ताधारी पार्टीका उच्च अधिकारीले संसदमै बलात्कार गरेको आरोप लगाएकी हुन् । यो घटना बाहिरिएपछि यतिबेला अस्ट्रेलियामा तरंग पैदा भएको छ ।

देशभर यस विषयमा टिकाटिप्पणी सुरु भएपछि मरिसनले हिगिन्ससँग माफी मागेको बीबीसीले जनाएको छ । हिगिन्सले च्यानल टेन टेलिभिजनको कार्यक्रम ‘द प्रोजेक्ट’सँगको अन्तर्वार्तामा आफूमाथि पूर्व रक्षामन्त्री लिन्डा रेनल्ड्सको कार्यालयमा बलात्कार भएको बताएकी हुन् ।

त्यसबेला उनले आफ्नो जागिर जाने त्रासका कारण यस घटनालाई सार्वजनिक गरेकी थिइनन् । उनले च्यानल टेनसँग भनेकी छिन्,‘मैले सन् २०१९ मा प्रहरीसँग आफूमाथि भएको बलात्कारको बारेमा कुराकानी गरेको थिए। तर त्यसबेला जागिर जाने त्रासका कारण मैले प्रहरीमा उजुरी नदिई मन्त्रालयमा यस विषय भने । मलाई त्रास थियो मेरो जागिर जानेछ ।’

उनले आफूले उक्त जागिर पाउन निकै मिहिनेत गरेको पनि बताएकी छिन् । यतिबेला भने उनी त्यहाँ काम गर्दैनन् । अस्ट्रेलियाका प्रहरीले पनि हिगिन्सले उनले प्रहरीसँग बलात्कारको विषय बताएको तर उजुरी नहालेको पुष्टि गरेका छन् ।

रक्षामन्त्रीको कार्यालयलाई यस विषयमा पुरा जानकारी दिएपछि एउटा बैठक पनि बोलाइएको थियो । तर चुनावको आह्वान भइसकेकाले नतिजामा असर गर्ने भएपछि यो घटना लुकाइएको थियो ।

हाल प्रधानमन्त्री मरिसनले ती महिलासँग माफी मागेर यस विषयमा अनुसन्धान गर्न आदेश दिएका छन् । उनले भनेका छन्,‘यो घटना हुनै हुँदैन थियो। तर जे भयो त्यसको लागि म माफी माग्छु। हामी यो सुनिश्चित गर्छौ कि महिलाको कार्यस्थल सुरक्षित हुनेछ र उहाँहरुलाई प्रणालीमा भरोसा गर्न आग्रह गर्दछु ।’

यसअघि पनि लिबरल पार्टी भित्रका महिलामाथि दुर्व्यवहार भएको खबर आएका थिए ।

नेपालखबर

प्रकाशित : २०७७ फाल्गुन ४, मंगलवार ११:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ