नयाँदिल्ली : भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३५ यात्रुको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा बिहान करिब साढे आठ बजे पुलबाट तल वाणसागर परियोजनाको नहरमा खसेको थियो । सडकमा साइड लगाउने क्रममा पुलबाट तल नहरमा खसेको बताइएको छ ।
बसमा ६० जना यात्रु रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मध्य प्रदेश सरकार जनसम्पर्क विभागका अनुसार हालसम्म नहरबाट ३५ जनाको शव निकालिएको छ । नहरमा खसेका सात जना यात्रुहरु भने पौडेर बाँच्न सफल सफल भएका छन् ।
अझै पनि १८ जना हराइरहेको र तिनीहरुको खोजी कार्य रहेको जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनाको खबरसँगै राज्य सरकारले मंगलबारका लागि निर्धारित सबै महत्वपूर्ण कार्यक्रमहरु रद्द गरेको बताइएको छ ।