काठमाडौं : बलिउड अभिनेता सन्दीप नाहरको मृत्यु भएको छ । मुम्बईस्थित आफ्नो घरमा उनी मृत फेला परेका हुन् । उनले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आत्महत्याअघि उनले फेसबुकमा एउटा भिडियो पोष्ट गरेका थिए । जसमा उनले आफ्नी श्रीमती र बलिउडको राजनीति आफ्नो आत्महत्याको कारण भएको बताएका थिए ।
स्थानीय प्रहरी अधिकारीका अनुसार मुम्बईको गोरेगावस्थित घरमा उनी बेहोस अवस्थामा फेला परेका थिए । उनलाई उनीकी श्रीमती र साथीले अस्पताल पुर्याएका थिए । अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।
सन्दीप हरियाणाको काल्का जिल्लामा सन् १९८७ डिसेम्बर २५ मा जन्मिएका थिए । अभियनमा उनको सानैदेखि रुची थियो ।
अभियनमा करियर बनाउन उनी सन् २००९ मा मुम्बई गएका थिए । आफूले सोचेजस्तो काम नपाएपछि घर फर्केका उनी फेरि सन् २०१२ मा मुम्बई गएका थिए । उनले केही टिभी सिरियलमा पनि काम गरेका थिए ।
उनले सन् २०१६ मा रिलिज भएको चलचित्र ‘एम.एस. धोनीः द अनटोल्ड स्टोरी’मा महत्वपूर्ण भूमिका निभाएका थिए । जहाँ उनी धोनीको भूमिका निभाएका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको साथीको भूमिकामा देखिएका थिए ।
उनले त्यसपछि अक्षय कुमारको चलचित्र ‘केसरी’मा पनि काम गरेका थिए ।