धर्मेन्द्र पासवान, सिरहा : धनगढीमाई नगरपालिकाले थालेको सुविधा सम्पन्न प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ०७२ आश्विन १ मा नगरपालिका स्थापना भएदेखि तत्कालिन गाविस भवनबाट आफ्नो सेवा दिंदै आइरहेको छ ।
आफ्नै प्रशासनिक भवन नहुँदा कार्यालयको कामकाज छुट्टा–छुट्टै भवनबाट दिनुपरेका कारण सेवाग्राहीलाई मात्र नभई सेवा प्रवाह गर्न समेत समस्या भइरहेको थियो । सोही कारण नयाँ भवन निर्माण गर्न लागेको हो । विभिन्न ठाउँबाट कार्यालय संचालन गर्नुपर्दा सेवा प्रवाहलाई नजिकबाट अनुगमन गर्ने स्थिति नरहेकोले नयाँ भवन निर्माण कार्य तिब्र गतिमा अगाडी बढाएको नगर प्रमुख हरि नारायण चौधरीले बताए ।
उनले नगरपालिकामा भवनको अभाव भएपनि पुर्वाधार शाखा र नगर प्रमुखको निजी सचिवालय बाहेक कार्यालयको सबै शाखाको सेवा नगरपालिकाले सार्वजनिक भवनबाट नै दिइरहेको र आर्थिक बचत पनि भइरहेको बताए । उनले भने– ठेक्काको हिसाबले भवन निर्माण पुरा हुन करिब १ वर्ष लाग्छ । तर हामीले कम्तीमा दुई तल्ला तयार गरेर भएपनि असोज मसान्तसम्म कार्यालयको सम्पूर्ण सेवा नयाँ भवनबाट दिने योजना रहेको छ ।’
हालको कार्यालय पुर्व–पश्चिम राज्यमार्गसंगै भएपनि बनिरहेको नयाँ प्रशासनिक भवब करिब १ किलोमीटर पुर्व दक्षिणमा अवस्थित रहेको छ । बनिरहेको भवनमा भुमिगत तल्लामा पार्किङ बनाइएको नगरपालिकाको पुर्वाधार शाखा प्रमुख इन्जिनियर शम्भु कुमार यादवले जानकारी दिए । उनका अनुसार नयाँ भवनमा भुइँ तल्ला, पहिलो, दोस्रो र तेस्रो तल्लासम्म रहेको छ । उक्त भवनमा फरक क्षमता भएका व्यक्तिका लागि अपाङ्गमैत्री लिफ्ट समेत रहने छ । सम्भवतः प्रदेशमै कुनै स्थानीय तहको भवनमा लिफ्ट प्रयोग भएको यो भवन नै पहिलो हो ।
भवनको ८० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेकोले सम्झौता मिति भन्दा पहिल्यै हस्तान्तरण भइसक्ने इन्जिनियर यादवले विश्वास व्यक्त गरे ।
कृषि र पशु शाखा एउटा भवनमा, शिक्षा स्वास्थ्य नगर उप–प्रमुख र न्यायिक समिति नयनपुर अस्पतालको भवनमा रहेकोमा नगरपालिकाले करीब १३ कठ्ठा क्षेत्रफलमा बनाइरहेको भवनमा सबै विषयगत शाखा अलग–अलग रहने धनगढीमाई नगरपालिकाको प्रवक्ता प्रकाश योन्जनले बताए ।
उनका अनुसार ०७६ असार ३० मा सम्झौता भइ १२ करोड ७३ लाख ५० हजार ३ सय १४ रुपैयाँ ४२ पैसा मुल्य अभिवृद्धि कर र पिएस बाहेक कार्य आदेश भएको मितिले तीन वर्षमा काम सम्पन्न भइसक्ने सम्झौता भएको छ ।