काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको अवहेलना हुने गरी आफूले कुनै पनि अभिव्यक्ति नदिएको दाबी गरेका छन् ।
आफूविरुद्ध परेको अवहेलना मुद्दाबारे लिखित जवाफ बोकेर केहीबेरअघि आफै सर्वोच्च अदालत पुगेका ओलीले आफूलाई अदालतको अवहेलाना गर्यो भन्नु नै दुराग्रहपूर्ण भएको बताएका छन् ।प्रधानमन्त्री ओलीले अदालतबाट हुने कार्यका विषयमा अन्य केही व्यक्तिहरुले सार्वजनिक रुपमा अभिव्यक्ति दिएजस्तो यो यस्तो हुनुपर्छ, नभए आन्दोलन गर्छु, कसैलाई कारवाही गर्छुजस्ता दबाबमूलक र निन्दनीय शब्द प्रयोग नगरेको समेत प्रष्ट पारेका छन् ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे’ वकिल भनेको र बहसलाई ‘तमासा’ भनेपछि प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
सोही बमोजिम जवाफ बोकेर प्रधानमन्त्री आज सर्वोच्च अदालत पुगेका हुन् । प्रधानमन्त्री ओलीले ३ पृष्ठ लामो लिखित जवाफ पेश गरेका छन् । ‘मैले मुद्दा जित्छु, मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्न नपाउने हुँदैन, यो स्वाभाविक मानिन्छ’, उनको जवाफमा लेखिएको छ ।


