काठमाडौं : ललितपुर महानगरपालिका-२६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ४३ वर्षीय राम बहादुर लामा समेत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले १९ बुक तास, १६ थान कौडा, ५ थान क्यारेमको गोटी, १ सय ५० थान सिमीको दाना र नगद ३० लाख ८४ हजार ४ सय रुपैयाँ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएकाे छ ।
ललितपुर जिल्ला ल.पु.म.न.पा.वडा नं. २६ सुनाकोठीस्थित अजय महर्जनको ४ तले पक्की घरको दोश्रो तलामा अवैध रुपमा जुवा तास खेली खेलाई रहेका छन् भन्ने विषेश सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरवाट प्र.नि.पोषण राज थपलिया र प्र.नि. सुरेश राज भट्टको कमाण्डमा ३५ जनाको टोलीले सो घरकोठामा रितपूर्वक खानतलासी गर्दा अवैध रुपमा जुवा तास खेलिरहेका खालबाट नगद तथा दशीका सामानहरू सहित निम्न १७ जना जुवाडेहरूलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर ललितपुरमा राखी अनुसन्धान भईरहेको ललितपुर प्रहरीले बताएकाे छ ।
पक्राउ पर्नेहरूमा राम वहादुर लामा, प्रकाश भण्डारी, लव कुमार वस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, तुलसी राम महर्जन, सानु कान्छा महर्जन, पूर्ण श्रेष्ठ, विनोद प्रसाद घिमिरे, पूर्ण मान माली, सानुकान्छा वस्नेत, राम खत्री, विनोद महर्जन र चिरीकाजी महर्जन रहेकाे पनि महानगरीय प्रहरी परिसर ललितपुरले सार्वजिनक गरेकाे छ ।
२०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई निम्न बमाेजिमकाे सजायकाे व्यवस्था गरिएको छ। उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ।
दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ। जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था पनि रहेकाे छ।