खोप खरिदमा भ्रष्टाचार ! भारतभन्दा प्रतिडोज १२८ रुपैयाँ महँगो, गुम्यो साढे २५ करोड


काठमाडौं : गत बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पत्रकारहरुलाई भने- ‘तपाईंहरु एउटा कुरा बुझेर के लेख्नुस् भने यो खोप सहुलियत दरमा आउँदैछ ।’

सरकारले भारतको सेरम इन्सटिच्युट अफ इन्डियाबाट उत्पादित २० लाख डोज कोभिसिल्ड खोप किन्ने निर्णय गरेको थियो । यो खोप अक्सफोर्ड र एस्ट्राजेनिकाले विकास गरेका हुन् । पुरै रकम अग्रिम भुक्तानी गर्न नपाइने सार्वजनिक खरिद ऐनको प्रावधान नै मन्त्रिपरिषद्को निर्णयबाट निलम्बन गराई सरकारले सेरमलाई २० लाख डोज खरिदका लागि रकम पठाएको थियो ।

सरकारले उक्त खोप प्रतिडोज ४ अमेरिकी डलर (४६४.८० रुपैयाँ) सहुलियत मूल्यमा किन्न लागेको मन्त्री त्रिपाठीले बताएका थिए । जसअनुसार सेरमले नेपालबाट झन्डै ९३ करोड रुपैयाँ भुक्तानी पाइसकेको छ । त्रिपाठीले उक्त सहुलियत दर कायम गर्न भारत सरकारको पनि सहयोग रहेको दाबी गरेका थिए ।

‘सहुलियत दर सामान्य प्रयासले निर्धारण भएको होइन। चार डलरको सहुलियत दर निर्धारणका लागि भारत सरकारको सहयोग छ,’ उनले थपे । नेपालले भारतबाट किन्ने भनिएको २० लाख डोजमध्ये पहिलो खेपमा १० लाख डोज खोप आइतबार नेपाल आइपुगेको छ । एयर इन्डियाको विमानमार्फत् उक्त खोप आइतबार दिउँसो काठमाडौं ल्याइएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरिएको छ । त्यहाँबाट प्रदेश हुँदै जिल्लास्थित खोप केन्द्रमा पुर्‍याइनेछ । सरकारले यो खोप फागुन २३ गतेबाट ५५ वर्षभन्दा माथिका नागरिक, स्थानीय निकायका कर्मचारीलगायत अग्रपंक्तिमा खटिनेलाई लगाउने तयारी गरेको छ । अहिलेसम्म अस्पतालहरुबाट लगाइएको खोप अब समुदायस्तरमा खोप केन्द्र स्थापना गरेर लगाइने छ ।

भारतलाई भन्दा नेपाललाई महँगो

तर, स्वास्थ्यमन्त्रीको दाबीविपरीत सेरमबाट नेपालले किनेको खोप युरोपेली संघ र भारतले खरिद गरेको भन्दा महँगो देखिएको छ ।

भारतको लोकसभामा समेत युरोपेली संघको भन्दा भारतले महँगोमा खोप किनेको भन्दै प्रश्न उठेको थियो । अघिल्लो साता त्यसको लिखित जवाफ दिँदै भारतका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री आश्विनीकुमार चौबेले कम्पनीबाट प्रतिडोज २१० भारतीय (३३६ नेपाली) रुपैयाँमा उक्त खोप खरिद गरेको जनाएका थिए । 

यही हिसाबले हेर्दा नेपालले भारतको भन्दा १२८ रुपैयाँ महँगोमा खोप खरिद गरेको देखिन्छ। सेरमबाटै २० लाख डोजका लागि भारतले ६७ करोड ४० लाख रुपैयाँ तिर्दा सोही परिमाणको खोपलाई नेपालले भने झन्डै ९३ करोड रुपैयाँ तिरेको छ ।

अर्थात् उही परिणाम (२० लाख डोज)को खोप सेरमबाट भारतभन्दा नेपालले साढे २५ करोड रुपैयाँ बढी तिरेर किन्दा पनि ‘भारत सरकारको सहयोगमा सहुलियतमै खोप किनेको’ दाबी मन्त्री त्रिपाठीले गर्दै आएका छन । सरकारी अधिकारी पनि सेरमबाट सरकारले सहुलियतमा खोप पाएको दाबी गर्छन् ।

यसै विषयमा प्रश्न राख्दा खोप खरिदको जिम्मेवारी बोकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण श्रेष्ठ पन्छिए । उनले व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीलाई सबै कुरा थाहा हुने भन्दै उनैसँग सम्पर्क राख्न भने ।

‘अहिले सहुलियत दरमा खोप पाएको हो,’ तिंकरीले भने, ‘भोलि टेन्डर गर्नुपर्‍यो भने धेरै खोप उत्पादन गरे कम मूल्य पर्नसक्छ । माग धेरै भयो तर कम उत्पादन भयो भने अझै बढी पैसा पनि पर्नसक्छ ।’

उनले कम्पनीले सुरुमा प्रतिडोज ४ डलर ४० सेन्ट भनेपनि छलफलपछि ४ डलरमा खोप दिन कम्पनी तयार भएको जनाए । उनले युरोपेली संघअन्तर्गतका देशहरुले खोप उत्पादनमा सहकार्य गरेकाले कम्पनीले ती देशहरुलाई कम मूल्यमा खोप उपलब्ध गराएको हुनसक्ने बताए ।

तिंकरीले सेरमबाट नै बंगलादेशले समेत साढे ५ डलर प्रतिडोजका दरले खोप खरिद गरेको दाबी गरे । तर ढाका ट्रिब्युनका अनुसार बंगलादेश र सेरमबीच ४ डलरमा खोप खरिद सम्झौता भएको छ । बंगलादेशले सेरमसँग ३ करोड डोज खरिदका लागि सम्झौता गरेको थियो। त्यस सम्झौताअनुसार गत जनवरी अन्तिममा सेरमबाटै बंगलादेशले पहिलो चरणमा ५० लाख खोप पाएको थियो ।

उक्त खोप बंगलादेशले प्रतिडोज ४ डलरमा पाएको ढाका ट्रिब्युनले जनाएको छ । सम्झौतामा भारतलाई सो कम्पनीले उक्त रकमभन्दा कममा खोप उपलब्ध गराएमा बंगलादेशले पनि ४ डलरभन्दा कम मूल्य तिर्ने उल्लेख छ । – नेपालखबर

प्रकाशित : 22 February 2021 8:17 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ