काठमाडौं : कास्की जिल्ला कास्कीकोट गाउँपालिका-४ का ३९ वर्षीय राजीभ गुरुङले टिकटकमा धनकुटाकी एक युवतीलाई साथी बनाए ।
टिकटक म्यासेन्जरमा उनीहरूबीच गत पुसदेखि कुराकानी सुरू भएको थियो । कुराकानी बाक्लिँदै जाँदा राजीभले ती युवतीलाई प्रेम प्रस्ताव राखे ।
दुबै जनाबीच सम्बन्ध झ्यांगिँदै गयो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक अर्जुन केसीका अनुसार त्यसपछि राजीभ र युवतीबीच भेटघाटको मिति तय भयो ।
भेटपछि बिहेको मिति पनि टुंगो लगाउने कुराकानी भएको थियो । त्यही सर्तबमोजिम राजीभ कास्कीबाट इटहरी आए, युवती धनकुटाबाट झरिन् ।
इटहरी-९ को आरआर होटलमा गत माघ २५ गते उनीहरू दुई दिन बसे । बसाइको अन्तिम दिन उनीहरूबीच शारीरिक सम्बन्ध पनि भयो । सम्बन्धपछि ती राजीभले युवतीलाई चोखिनुपर्छ भन्दै नुहाउन बाथरुम पठाए ।
नुहाउन छिरेको बेला राजीभ युवतीको चार आनाको सुनको सिक्री, चार आनाको झुम्का, ब्रास्लेट र नगद २७ हजार पाँच सय समेत लिएर फरार भए । ‘नुहाएर निस्किँदा गुरुङलाई नदेखेपछि युवतीले सिधै आएर हामीकहाँ जाहेरी दिइन्,’ डिएसपी केसीले भने, ‘त्यसपछि हामी गुरुङको खोजीमा थियौं ।’
बिहीबार तिनै गुरुङको मोबाइल लोकेसन खनारमा देखियो । उनी झापाकी अर्की युवतीलाई त्यसैगरी टिकटकमा साथी बनाएर भेट्न जाने क्रममा थिए । ‘त्यस्तो अवस्थामा हामीले पक्राउ गरी उनीमाथि अनुसन्धान थालेका छौं,’ उनले भने ।
गुरुङलाई शुक्रबार जरबजस्ती करणी मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिइएको छ ।उनको साथबाट युवतीको एटिएम कार्ड बरामद भएको केसीले बताए।
‘गुरुङले होटलमा बस्दा देखाएको लाइसेन्स पनि नक्कली रहेको खुलेको छ,’ केसीले भने, ‘टिकटिकको माध्यमबाट सम्बन्ध बढाएर शारीरिक शोषणसँगै ठगी गर्ने नियत देखिन्छ ।’ – सेतोपाटी