बारा : बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ मा भगवान श्रीहरि विष्णुको १३ औं शताब्दीमा बनेको मूर्ति फेला परेको छ ।
एक किसानले माछा पाल्नका लागि पोखरी खन्ने क्रममा उक्त मूर्ति फेला परेको हो । सात फिट खन्दा फेला परेको मूर्ति आकर्षक र भव्य छ ।
७ फिट लामो र चार फिट चौडाई भएको मूतिको पुनः प्रतिस्थापनका लागि तयारी थालिएको वडाध्यक्ष राजेशप्रसाद यादवले न्यूज २४ लाई बताए । ऐतिहासिक र वैभवशाली मानिएको सिम्रौनगढ एक समय सबभन्दा ठूलो साम्राज्य भएको राज्य समेत मानिन्थ्यो ।
१३ औं शताब्दीमा यो राज्यमाथि भारतको ठूलो भागमा राज्य गरिरहेका मुस्लिम राजा ग्यासउद्धिन तुलकले आक्रमण गरेर यहाँ भएको भव्य संरचना, मन्दिर र मूर्तिहरु नष्ट गरेका थिए ।
त्यसबेला सिम्रौनगढमा राज्य गरिरहेका राजा नरसिंह देव भने भागेर काठमाडौं पुगेर ज्यान बचाएको इतिहासमा उल्लेख छ ।