राज्यमन्त्री यादवले भने- किसानको गहुँबाली नष्ट गर्ने मन्त्री प्रभु साहलाई बर्खास्त गर


सिबेन्द्र रोहिता, जनकपुरधाम : प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले संघका शहरी विकास मन्त्री प्रभु साहलाई बर्खास्त गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् ।

जिल्ला सहकारी संघ लि. धनुषाको साधारण सभालाई जनकपुरमा उद्घाटन गर्दै राज्यमन्त्री यादवले कृषकको गहुँबाली नष्ट गरेर मन्त्री प्रभु साह अपराध गरेको भन्दै उनलाई बर्खास्त गर्न माग गरे । उनले भ्रष्टाचार, महिला हिंसा र ठगी गरेको आरोप समेत मन्त्री साहमाथि लगाए ।

उनले मन्त्री साह जस्ता भ्रष्टलाई बर्खास्त नगरे देशमा सुशासन कायम नहुने पनि बताए । ‘चुनावका बेला एक महिलासँग मन्त्री प्रभु साहले ३० लाख रुपैया सापटी लिएका थिए’, उनले भने, ‘तर रुपैया फिर्ता नगरेपछि पीडित महिला मन्त्रालयमै पुगेर विष सेवन गर्ने प्रयास गरेको समाचार छापामाध्यममा समेत आइसककेको छ । यस्ता कुसंस्कारी मन्त्रीलाई तत्कालै बर्खास्त गरिओस् ।’

राज्यमन्त्री यादवले भने, ‘वन मन्त्रीले रुखविरुवा कार्वनडाइअक्साइड दिन्छन् भन्ने अभिव्यक्ति दिदा आश्यर्च लागेको छ । शिक्षा मन्त्री पनि गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिडेका छन् । यस्ता मन्त्रीहरुलाई तत्कालै बर्खास्त गर्न प्रधानमन्त्रीसँग मेरो आग्रह छ ।’

संघको साधारण सभामा केहि असन्तुष्ट व्यक्तिले प्रदर्शन गर्दा उद्घाटन समारोह केहिबेर अवरुद्ध भएको थियो । तर सुरक्षाकर्मी प्रदर्शनकारीहरुलाई साइड लगाएपछि शान्तिपूर्ण तरिकाले संघको उद्घाटन सत्र सम्पन्न भएको छ ।

प्रकाशित : 5 March 2021 2:56 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ