काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्कान खातुनलाई बधाई दिएकी छिन् । राष्ट्रपति भण्डारीले अमेरिकाको प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार पाएकोमा खातुनलाई बधाई दिएकी हुन् ।
राष्ट्रपति भण्डारीले पुरस्कारका लागि अमेरिका सरकारलाई पनि धन्यवाद व्यक्त गरेकी छिन् । ‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस्तो जघन्य अपराधविरुद्ध सहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद’, राष्ट्रपति भण्डारीले ट्विटमा उल्लेख गरेकी छिन् ।
अमेरिकी विदेश मन्त्रालयले यस वर्षको पुरस्कार खातुनलाई दिने निर्णय गरेको थियो । उनी यो पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति पनि बनेकी छिन् ।
एसिड आक्रमण अन्त्यतर्फ लक्षित उनको कार्यका लागि पुरस्कार प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमका बीच सो पुरस्कार खातुनलाई प्रदान गर्नेछन् ।