प्रदेश २ : भारतीय नाकामा क्यामेरा जडान गरिँदै, तस्करको छटपटाहट !


वीरगञ्ज : सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ का आठै जिल्लामा सीसीटीभी क्यामरा जडान थालेको छ ।

भारतीय सीमासँग जोडिएको प्रदेश २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर जोडिएको सीमामा हुने आपराधिक गतिविधि तथा चोरी तस्करीलाई नियन्त्रण गर्न सीमा क्षेत्र तथा पूर्व–पश्चिम राजमार्गको मुख्य ठाउँमा करीब २०० जति सीसीटीभी क्यामरा जडान गर्न लागिएको प्रदेश २ का सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमले जानकारी दिए ।

बाराको सिम्रौनगढ नगरपालिका–९, बाँसबारीमा जडान गरिएको तीनवटा सीसीटीभी क्यामरा सञ्चालनमा छ । सोही नगरपालिका–१ मा तीन, बेल्दारीमा दुई, कलैया उपमहानगरपालिका–१० मटिअर्वामा तीन, महागढीमाई नगरपालिका–७ बेनौलीमा तीनवटा क्यामरा सञ्चालन छ ।बरैनियामा तीन र कवहीगोठ–२ मा क्यामराको सामान उपलब्ध गराएको छ ।

यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका १६ को भन्सार मूलद्वारमा चार, वीरगञ्ज महानगरपालिका १ प्रगति नगरमा तीन, आदर्शनगरमा तीन, अलौमा चार, अमरपटिमा तीन, छिपहरमाई गाउँपालिका ५ भिस्वा सीमा क्षेत्रमा तीन, ठोरी गाउँपालिका ५ सुर्वणपुर बाघमोर्चामा तीन, सोही गाउँपालिका–२ ठुटे खोला र बजारमा दुईवटा क्यामरा जडान गरिने लक्ष्य रहेको बताइएको छ ।

ती जडान भएका सीसीटीभी क्यामराको सशस्त्र प्रहरीको जिल्ला कार्यालय तथा प्रदेश २ को मुख्यालयबाट सीमा क्षेत्रको गतिविधि हेर्न सकिने व्यवस्था गरिएको छ । यसैबीच सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै प्रदेश २ भरि आठ सशस्त्र अधिकृतसहित ६० भन्दा बढीलाई कारबाही गरेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७७ फाल्गुन २२, शनिबार १७:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ