- सबिता यादव
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई भोग विलास र रमाइलो गर्ने पर्वको रूपमा होइन, समानता र अधिकार प्राप्तिका निम्ति महिलाहरुलाई उर्जा प्रदान गर्ने दिनको रूपमा स्मरण गर्नुपर्छ । संघर्षको रूपमा मनाउनुपर्छ । नर–नारी दुबै सृष्टिका सुन्दर रचना हुन् । तर पनि यी दुईका निमित समाजले बेग्ला–बेग्लै नियम बनाइ दिएको छ । ती मध्ये कतिपय प्रचलनमा रहेका नियम व्यवहारमा अनुचित र नजायज हुँदाहुदै पनी हामीले पर्याप्त चुनौती दिन सकिरहेका छैनौं ।
सामाजिक मुल्य मान्यता र आफ्नै घर–परीवार, आफन्तको व्यवहारले पनि समय–समयमा पटक–पटक छोरी चेली महिलाहरु शोषित, तिरस्कृत, अपहेलित र बली चढदै आइरहेकी छन् । महिला पुरुषको समानताको अधिकार शब्दमा भनिएझैं व्यवहारमा पनि देख्नुपर्छ । तर व्यवहारमा अहिले पनि समाज र परिवारको नियम महिला पुरुषका लागि वेग्ला बेग्लै नै छ । यसका सुरुवात सबभन्दा पहिला आफ्नै घर–परिवार र अभिभावकबाट गर्नुपर्दछ ।
अभिभावकले छोरा झैं छोरीलाई पनि उच्च शिक्षा प्राप्त गर्ने वतावरण आफ्नो हैशियत अनुसार बनाउनु पर्दछ । कतिपय ठाँउमा परिवारको हैशियत हुँदाहुदै पनि छोरीहरु विद्यालय जानबाट बन्चित नै रहन्छ । हाम्रो समाजमा महिलाले दाइजो ल्याएन भने सास्ती खेप्नु पर्छ, यातना खेप्नुपर्छ । जल्नुपर्छ । यदि पुरुषले दाइजोको ठाँउमा महिलाको शैक्षिक प्रमाणपत्र माग्न थाल्छन् भने अवश्य नै अभिभावकहरुले पनि छोरीलाई उच्च शिक्षा दिलाउन प्रयास गर्नेछ । आजको आवश्यकता पनि यही हो ।
महिलाहरुप्रति गर्ने दुर्ववहार, अत्याचार, हिंसा, चरित्रहनन, शोषण, दमनलाई अन्त्य गर्न सबैले नारी समानतालाई घर–टोल परिवारवाटै थाल्नी गर्नु पर्दछ । अन्तमा महीलाहरुलाई पनि यहि भन्न चाहन्छु की कुनै प्रकारले आफुमाथी हुने अन्याय अत्याचारलाई सहनुको साटो त्यसको प्रतिकार गर्न सक्ने क्षमता आफैले आफुमा वृद्धि गर्नु पर्दछ । त्यसका लागि शिक्षा र जागरुकताको खाचों छ ।
नारी दिवसको सबैमा हार्दिक शुभकामना ।
(महोत्तरीको जलेश्वर घर भएकी यादव महिला अधिकारकर्मी हुन् ।)