काठमाडौं : सत्ता समीकरणमा सहमति जुटाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच छलफल हुँदैछ। जसपा र माओवादी केन्द्रको बैठकले सत्ता समीकरणका लागि कांग्रेससँग बसेर छलफल गर्ने निर्णय गरेको गरेपछि आज छलफल हुन लागेको हो ।
आज छलफल हुने बताइए पनि कति बेला हुने भन्ने टुंगो लागिनसकेको जसपा अध्यक्ष महन्थ ठाकुरले बताए । सत्ता सहकार्यबारे जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने पक्षमा देखिएका छन् भने संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने ओलीसँग सहकार्य गर्न नसकिने पक्षमा देखिएका छन् ।
नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाले प्रधानमन्त्री ओलीसँग छलफल गरेको छ। यस्तै‚ प्रमुख प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्रसँग पनि छुट्टाछुट्टै छलफल गरिसकेको छ ।
कांग्रेसले पनि नयाँ सरकार गठनमा आफू अगाडि बढ्ने संकेत गरिसकेको छ । उसले नेतृत्व पाए सरकारमा जान सक्ने बताउँदै आएको छ । जसपाका नेताहरु पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गरिरहेका छन् । जसपाका अध्यक्ष यादवले कम्युनिस्ट र कांग्रेस दुवै दल सरकार चलाउन असफल भइसकेकाले अब सरकारको नेतृत्व आफूहरूलाई दिनुपर्ने धारणा राख्दै आएका छन् ।
यस्तै, माओवादी केन्द्र र एमालेको नेपाल–खनाल पक्षका नेताहरुले पनि आन्तरिक छलफललाई तीव्र बनाएका छन् । उनीहरुबीच प्रधानमन्त्री केपी ओलीले गरेको पछिल्लो निर्णयपछि नयाँ समीकरण बनाएर अघि बढ्नेबारे छलफल भइरहेको बताइएको छ । यो समूहले वामपन्थीको सरकार बनाउनु पर्नेमा जोड दिँदै आएको छ ।