जनकपुरधाम : करिब २० वर्ष भूमिगत आन्दोलनमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतलाई साथ दिए नेता रामविलाश यादव । मोर्चाले लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराउनुभन्दा केहि घण्टा अगाडी मात्र उनी जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसमर्पण गरेका थिए । उनी भन्छन्, ‘गोइत जी वार्तामा आउनुहुन्छ जस्तो लाग्दैन ।’
‘स्वतन्त्र तराई राष्ट्रको एजेण्डा छाड्न गोइत जी तयार छैन,’ उनले टुडे एक्सप्रेससँग सोमवार भने, ‘तर संविधान र सरकार उहाँको एजेण्डा स्वीकार गर्दैन । त्यसैले उहाँ वार्तामा आउने सम्भावना छैन ।’ उनले जनताले साथ दिएमा तराई स्वतन्त्र राष्ट्र हुने पनि बताए । उनले आफु सार्वजनिक भए पनि शान्तिपूर्ण तरिकाले संघर्ष गरिरहने बताए ।
गोइतका विश्वासिलो नेता रहेका उनले भूमिगत रहेर मात्र क्रान्ति सफल नहुने भएकाले सेफ ल्याण्डिङ गरेको बताए । उनले भने, ‘कुनै पनि मुद्दाको निराकरण वार्ताको माध्यमले नै हुन्छ । जस्तो कि, विगतमा जनयुद्ध लडेका माओवादीको मुद्दा वार्ताबाटै समाधान भयो । त्यसैले सार्वजनिक भएँ ।’ ६३ वर्षीय उनले राजनीतिबाट सन्यास लिन सकिने भन्दै मुद्दा नछाडेको र आफ्नो मुद्दा सम्बोधन गराउने दलमा आवद्ध हुने वा अलग संगठन निर्र्माण गरेर संघर्ष गर्ने बताए ।
उनले जिल्ला प्रहरी कार्यालय सिरहामा आफूमाथि दर्ता रहेको मुद्दा सरकारले खारेज गर्ने विश्वास व्यक्त गरे । ‘औपचारिक रुपमा वार्ता सरकारसँग नभएपनि इन्टरनल कुरा भएको छ’, उनले भने, ‘हालै सरकारसँग वार्ता गरेका विप्लवको मुद्दासँगै मेरो मुद्दा पनि फिर्ता लिने आश्वासन मन्त्री लीलानाथ श्रेष्ठ ज्यूले दिनुभएको छ ।’
मोर्चाले लहानस्थित मालपोत कार्यालयमा गराएको बम विस्फोटलाई तत्कालै ठिक वा बेठिक भन्न नसकिने उनको भनाई छ । उनले आफू सार्वजनिक हुनुभन्दा एक वर्ष अगाडीदेखि गोइत जीसँग कुरा नभएको बताए । उनले भने, विज्ञप्ति नै जारी गरेर त होइन, तर म पहिलेदेखि नै गोइत जीसँग सम्पर्कविहीन थिएँ ।’
सिरहाका क्याम्पसका पूर्व प्राध्यापक समेत रहेका उनी मोआवादी जनयुद्ध पनि लडेका हुन् । माओवादी शान्तिप्रक्रियामा आएपछि मधेसको मुद्दा छाडेको भन्दै गोइतको नेतृत्वमा २०६१ सालमा उनी स्वतन्त्र तराई राष्ट्रको मुख्य मुद्दा बोकेर भूमिगत भएका थिए । उनी सार्वजनिक भएपछि प्रशासनको निगरानीमा छन् ।