प्रदेश २ : सत्यनारायणको दावी, ‘एमाले संसदीय दलको नेता मै हुँ’


जनकपुरधाम : सर्वोच्च अदालतको आदेशपछि नेकपा एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किसकेको छ । अब संघसहित प्रदेशमा पनि संसदीय दलका नेता बन्नका लागि दौडधूप शुरु भएको छ– दुबै पार्टीमा ।

प्रदेश २ मा पनि एमाले र माओवादीबाट संसदीय दलको नेता को बन्ने भन्नेमा बहस शुरु भएको छ । एमालेका तत्कालिन संसदीय दलका नेता सत्यनारायण मण्डल थिए । पार्टी एकतापछि नेकपा संसदीय दलका नेता पनि उनी नै भए । तर नेकपा दुई समूहमा विभाजित भएपछि प्रचण्ड–माधव समूहले उनलाई हटाए । र एमालेकै सांसद शत्रुधन महतोलाई संसदीय दलको नेता बनाइयो ।

तर अब एमालेको संसदीय दलका नेता को त ? यसअघि एमाले र नेकपा दुबैका संसदीय दलका नेता रहेका सत्यनारायण मण्डल भन्छन्, ‘एमालेका संसदीय दलका नेता पनि मै हुँ ।’

महतोलाई नियमसंगत तरिकाले संसदीय दलको नेता नबनाइएको मण्डल बताउँछन् । ‘मबिरुद्व अविश्वासको प्रस्ताव दर्ता हुँदा मलाई सफाइ दिने मौका दिनुप¥थ्यो । तर दिएन,’ मण्डलले टुडे एक्सप्रेससँग भने, ‘यसबारे सभामुखलाई पनि जानकारी गराएका थियौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधीसभा बिघटन गरेपछि नेकपाका प्रदेश सांसदहरु ओली र प्रचण्ड–नेपालतीर ओहोरदोहार भएका थिए । त्यसक्रममा प्रचण्ड–नेपाल समूहका सांसद मिलेर संसदीय दलको नेताबाट ओली पक्षीय सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई बनाएका थिए ।

अब अदालतको निर्णयपछि नेकपा एमाले र माओवादी केन्द्र बनेपछि एमालेको संसदीय दलको नेता आफू नै रहेको उनको जिकिर छ । ‘म अलरेडी संसदीय दलको नेता हुँ,’ उनी भन्छन्, ‘म त एमालेमा प्रतिस्पर्धा गरेर आएको हुँ । र, मबिरुद्व कसैले अविश्वासको प्रस्ताव पनि दर्ता गरेको छैन् । त्यहीं भएर म नै नेता हुँ ।’

प्रदेश सभाले आफूलाई नै एमालेको संसदीय दलको नेताको मान्यता दिनेमा विश्वस्त छन् मण्डल । ‘मलाई मान्यता नदिए मान्दैनौं भन्दै उनले प्रश्न गरे, ‘प्रदेशसभा सचिवालयलाई जे मन लाग्छ त्यही गर्छ ? कुन आधारले महतोलाई मान्यता दिन्छ ?’
नेता मण्डलले पार्टीको निर्णयबिरुद्व जानेलाई कार्वाही हुने बताए । उनले भने, ‘सवाल अल्पमत र बहुमतको छैन । धेरै ट्वाँ–ट्वाँ गर्नेलाई कार्वाही हुन्छ ।’

पार्टीको निर्णय मान्न ह्वीप जारी हुने र ह्वीपबिरुद्व जानेलाई समानुपातिक सांसदबाट हटाइने चेतावनी समेत उनले दिए । भने, ‘निर्वाचित पनि गोलखाँरीमा गइहाल्छन् । के बुझेका छन् यीनीहरुले ?’ यद्यपी उनले आफूलाई वैधानिक तरिकाले पराजित गरे स्वीकार गर्ने बताए ।

प्रदेश २ मा नेकपा एमालेका २१ साँसद छन् । जसमध्ये १३ साँसद आफ्नो पक्षमा रहेको माधव नेपाल समूहको दावी छ ।

प्रकाशित : २०७७ चैत्र ४, बुधबार ०९:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ