एजेन्सी : सैनिक ‘कू’ गरेर सत्ता हातमा लिएको म्यानमारको सेनाले नागरिकमाथि दमन र हिंसा बढाएको छ ।
शनिबार मात्रै विभिन्न ४४ शहरमा म्यानमारको सेनाले ११४ जनाभन्दा धेरैको हत्या गरेको छ । सडकमा देख्नेबित्तिकै सेनाले गोली चलाएर हत्या गर्ने गरेको छ । अहिलेसम्म सेनाको गोली प्रहारबाट चार सय बढी बर्मेली नागरिकको हत्या भइसकेको छ ।
सुरुमा ब्यापक धरपकडमा उत्रिएको सेना पछिल्लो समय दमनमा लागेको छ । सडकमा कसैलाई देख्नेबित्तिकै गोली चलाएर मार्ने आदेश पाएको सेनाको अन्तराष्ट्रिय रुपमा चर्को आलोचना हुँदै आएको छ ।
यता अमेरिकाले भने शनिवारको घटनालाई ’भयभीत बनाउने घटना’ भन्दै सैन्य सरकारको विरोध गरेको छ । त्यस्तै बेलायत, संयुक्त राष्ट्रसंघ, युरोपियन युनियनले पनि शनिवारको घटना सैन्य सरकारको दमन भएको भन्दै विरोध जनाएको छ । तर पनि सेनाले आफ्नो बर्बर हत्या कार्यलाई रोकेको छैन् ।