म्यानमार घटनालाई ‘मधेश विद्रोह’सँग तुलना, जसपा नेताले भने- सरकार बोल्नुपर्छ


काठमाडौं : म्यानमारमा सैनिक सरकारले विरोधमा उत्रिएका नागरिकमाथि गरेको दमनको जनता समाजवादी पार्टीले विरोध गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै जसपा नेता लक्ष्मणलाल कर्णले त्यहाँको घटनाप्रति संवेदनशील हुनुपर्ने बताए । त्यसबारे सरकार र संसद समेत बोल्नुपर्ने उनको माग छ ।

‘यो घटना हेर्दाखेरि सम्पूर्ण संसार आज संवेदनशील छ, लोकतान्त्रिक मुलुकहरु संवेदनशील छ,’ उनले भने, ‘यो संसद र हाम्रो सरकार जहाँ लोकतन्त्रको हत्या भएको छ, त्यसबारेमा बोल्नुपर्छ । गम्भीर हुनुपर्छ ।’

त्यस्तो घटनाप्रति आफूहरु चुप लागेर बस्न नसक्ने समेत उनले बताए। कर्णले भने, ‘मानवअधिकारको रक्षाका लागि हामी चुप लागेर कहिँ पनि बस्न सक्दैनौं । मानव अधिकार, लोकतन्त्रको लागि पनि हामीले लड्नुपने, बोल्नुपर्ने स्थिति विद्यमान छ ।’

एक महिनामै म्यानमार ८ सयभन्दा बढीको हत्या भइसकेको भन्दै उनले ‘मधेश विद्रोह’को समेत स्मरण गरे ।

‘म्यानमारमा निर्वाचित सरकारलाई विघटन गरेर सैनिक सरकारले जनताले गरेको प्रतिरोधमा उत्रेका जनतलाई गोली मारिरहेको छ, अहिलेसम्म छोटो अवधिमै ८ सय मान्छे मरिसकेका रहेछन्,’ कर्ण भन्छन्, ‘मलाई स्मरण छ, हामी पनि यसै किसिमबाट शान्तिपूर्ण मधेश आन्दोलन गरिरहेका थियौं । त्यो आन्दोलनताका हामीलाई पनि यसै गरि छातीमा, टाउकोमा गोली मारेको थियो ।’

मधेस विद्रोहमा मारिनेको संख्या उल्लेख गर्दै उनले थपे, ‘हामी ६ महिनामा एक सय ५ जना मारियौं भने त्यहाँ एक महिनामा आठ सय भन्दा बढी व्यक्ति मारेको रहेछ ।’

– नेपाल प्रेस

प्रकाशित : २०७७ चैत्र १८, बुधबार १४:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ