जनकपुरधाम । जनकपुरधाम उद्योग बाणिज्य संघको निर्वाचन शान्तिपूर्ण सम्पन्न भए पनि मतगणना विवादित बनेको छ । बरिष्ट उपाध्यक्षका उम्मेदवार सुरेन्द्र भण्डारीले मतगणनाका क्रममा अतिरिक्त मतपत्र फेला परेकाले हार स्वीकार नगर्ने बताएका छन् ।
पत्रकार सम्मेलन गरी उम्मेदवार भण्डारीले ४३ सय ११ मत खसेको तर मतगणना गर्दा ४३ सय ९९ मत फेला परेको बताए । उनले भने, ‘मेरो प्रतिद्धन्दी मनिष रमण साहकै दाई सन्तोष साह निर्वाचन समितिको अध्यक्ष थियो । उहाँले भाईलाई जिताउन धाँधली गरे ।’ मत गणनागर्दा खसेको मतभन्दा कम मतपत्र भेटिनसक्छ, तर बढी भेटिएकाले आश्यर्च लागेको उनको भनाई छ ।
‘मतपत्र बढी भेटिएपछि मतगणना रोक्न निर्वाचन समिति र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थिए’, भण्डारीले भने, ‘दिनभर मतगणना स्थगित पनि रह्यो । तर साँझ पर्ने वित्तिकै हतार हतार मनिष रमण साहलाई ४५ भोटले विजयी घोषणा गर्यो ।’
सार्वजनिक गरिएको मतपरिणाम अनुसार भण्डारीले २१ सय ५० र मनिष रमण साहले २१ सय ९५ मत ल्याएका छन् । यस्तै ५४ मत बदर भएको छ । भण्डारी भन्छन्, ‘निर्वाचन समितिकै अनुसार ८८ मतपत्र बढी भेटिएको हो । तर यो कहाँबाट आयो भन्ने कुराको जवाफ दिनुपर्छ कि पर्दैन् ? जवाफ दिनै सक्दैन किनकी मलाई चुनाव हराउन बाहिरबाट मतपत्र ल्याएर त्यसमा मिलाएको रहेछ ।’
पत्रकार सम्मेलनमा भण्डारीले न्यायका लागि अदालत जाने बताए । उनले न्याय पाउने विश्वास व्यक्त पनि गरे । ‘सदस्य पदको मतगणना गर्दा पनि मतपत्र बढी भेएिको छ’, उनले भने, ‘तर उनीहरु न्यायका लागि अगाडी किन आएन थाहा भएन । तर म न्याय नपाएसम्म संघर्ष गर्छु ।’