काठमाडौं । गृहमन्त्री रामवहादुर थापा राष्ट्रियसभा सदस्यबाट पदमुक्त हुनु भएको छ । सांसदबाट हटे लगत्तै थापा गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त हुनुभएको छ ।
नेकपा माओवादी केन्द्रले उहाँलाई पार्टीबाट निष्कासन गरेको पत्र संघीय संसद सचिवालयमा पठाएसँगै उहाँको सांसद पद गुमेको हो । थापाको सांसदसँगै मन्त्री पद पनि गुमेको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गर्नुभएको हो ।
तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ । २०७४ मा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका थापाको कार्यकाल ६ वर्ष थियो ।
एमालेतिर लागेको भनेर पार्टीले कारबाही गरेपछि उहाँको राष्ट्रिय सभा सदस्य तीन वर्षमै सकिएको हो ।थापाको पद गुमेपछि अब उहाँले पुनः मन्त्री बन्न संविधानअनुसार शपथ लिनुपर्छ । सांसद पद गुमे पनि पुनः शपथ लिएर उहाँ ६ महिनाका लागि मन्त्री बन्न सक्नुहुनेछ ।
