काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूनिकट नौ जना सांसदसँग सिंहदरबारमा छलफल गरेका छन् ।
बिहीबार दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतोसहित सांसदसँग छलफल गरेका हुन् । वरिष्ठ नेता महतोका अनुसार सरकारसँग भएको वार्ता, मधेस र थरुहट आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने प्रक्रियाका बारेमा भइरहेको प्रगतिको जानकारी गराइएको हो ।
‘सरकारसँग हाम्रा तर्फबाट तीनजना साथीहरुले वार्ता गरिरहनुभएको छ,’ महतोले छलफलबारे भने, ‘हाम्रै सांसद साथीहरुले पछिल्लो अवस्था के छ भनेर जानकारी माग्नुभएको थियो, ती सबैलाई आज अहिलेसम्मको प्रगतिबारे जानकारी गराइएको हो ।’
जसपा र सरकारबीच भएको वार्तामा मधेस र थरुहट आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित २ सय ८ मुद्दाहरु फर्ता लिने सहमति जुटेको छ ।
ठाकुरले सांसदहरुलाई सबै मुद्दा फिर्ता लिन सरकार तयार रहेको ब्रिफिङ गरे ।
टीकापुर घटनामा दोषी ठहर भई थुनामा रहेका रेशम चौधरीको रिहाइ भने अदालती प्रक्रियाबाट गर्ने प्रतिबद्धता सरकारले जसपासँग गरेको छ ।
‘हाम्रा साथीहरुमाथि लगाइएका ७ क्याटागोरीका २ सय ८ वटा मुद्दा सरकारले फिर्ता लिने भनेको छ, हामी अहिले मन्त्रिपरिषद् बैठकको निर्णय कुरिरहेका छौँ । माननीय रेशम चौधरीको रिहाइ अदालती प्रक्रियाबाट गर्ने सहमति जुटेको छ,’ महतोले भने ।
‘यदि हाम्रा साथीहरुको सबै मुद्दा फिर्ता लिने सरकारले निर्णय ग-यो भने विश्वासको वातावरण बन्छ,’ ठाकुरले सांसदहरुसँग भने, ‘जसपाले अघि सारेका बाँकी माग सम्बोधनको लागि फेरि संवाद गर्न सकिन्छ ।’
संविधान संशोधन, गिरिषचन्द्र लालले बुझाएको प्रतिवेदन सार्वजनिक लगायतका माग क्रमैसँग गर्न सकिने ठाकुरले बताएका थिए ।
जसपाका ३२ सांसद छन् । जसमध्ये १६ पूर्व राजपाका हुन् । तर, ठाकुरले पूर्वसंघीय समाजवादी पार्टीका सांसदलाई भने आजको छलफलमा बोलाएनन् ।
अध्यक्ष उपेन्द्र यादव निकट एक सांसदका अनुसार उनीहरुलाई कुनै जानकारी नै गराइएन । ‘छलफल गर्ने भन्नेबारेमा हामीलाई कुनै जानकारी दिइएन,’ ती सांसदले भने ।
पछिल्लो दिन ठाकुर, महतो, लक्ष्मणलाल कर्ण सहितका पूर्व राष्ट्रिय जनता पार्टीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिकिएका छन् ।
जसपाले उठाएको माग मुद्दा सम्बोधन गर्न सरकार तयार भएकोले उसैलाई साथ दिएर जाने संकेत ठाकुरले गरेपछि जसपा विभाजित अवस्थामा छ ।
अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ओलीसँग मिल्न नहुने पक्षमा छन् । जसपाकै कारण नेपाली कांग्रेसले ओली विरुद्ध ल्याउन खोजेको अविश्वासको प्रस्ताव समेत ल्याउन सकेको छैन ।
– नेपालखबर