टुडेखोज, सप्तरी : कोरोना संक्रमण बढीरहेका बेला सरकारले विद्यालय बन्द गर्न दिएको निर्देशन अवज्ञा गर्ने एक दर्जन प्रिन्सिपल पक्राउ परेका छन् ।
अनुगमनका क्रममा राजविराजका शिव इन्टरनेशनल बोर्डिङ्ग स्कुल, ह्यापी ल्याण्ड सेकेण्ड्री स्कुल, लक्ष्मी इण्लिस बोर्डिङ्ग स्कुल, सिर्जना बोर्डिङ्ग स्कुल, ग्रिनल्याण्ड बोर्डिङ्ग स्कुल, लिटिल एन्जल, लिटिल फलाबर, पिसजोन बोर्डिङ्ग स्कुल, जानकी बोर्डिङ्ग स्कुल लगायतका प्रिन्सिपललाई नियन्त्रणमा लिइएको छ ।
निर्णय कार्यान्वयन गराउन थालिएको अनुगमनको क्रममा विद्यालय सञ्चालन राखेको पाइएपछि प्रिन्सिपलहरुलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । पक्राउ परेका सबै प्रिन्सिपललाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमाणि पोख्रेलले नियन्त्रणमा लिइएकाहरूमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने पोख्रेलले जानकारी दिए ।