काठमाडौं । कोभिडले गाह्रो पार्ने श्वासप्रश्वासलाई हो । शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएका गम्भीर बिरामीलाई कृत्रिम तरिकाले अक्सिजन दिनुपर्छ ।
भारतमा अक्सिजन नपुगेर हाहाकार छ । नेपालमा पनि कोभिडका बिरामी बढेसँगै अक्सिजनको खपत बढ्न थालेको छ । बिरामीको संख्या दिनदिनै थपिँदा सर्वसाधारणमा त्रास छ– नेपालमा पनि भारत जस्तै अक्सिजन अभाव हुने हो की ? तर नेपाल अक्सिजन ग्यास उत्पादक संघले उद्योगहरुमा अक्सिजन पर्याप्त रहेको जनाएको छ ।
सामान्य अवस्थामा खासै माग हुँदैनथ्यो । गत वर्ष कोभिड सुरु भएपछि अक्सिजनको माग बढ्न थालेको हो । माग बढेको देखिए पनि अपेक्षित परिमाणमा खपत नहुँदा अक्सिजन कतिपय उद्योगका प्लान्ट अझै पूर्ण रूपमा सञ्चालन नभएको नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव सारडाले बताए ।
हाल उपत्यकामा मात्र ८ वटा र उपत्यकाबाहिर १८ वटा प्लान्टहरुबाट अक्सिजन उत्पादन भइरहेको छ । जसमा दैनिक ८ हजारभन्दा बढी सिलिण्डर उत्पादन हुँदै आएको छ । ‘अक्सिजनको अभाव छैन । अक्सिजनका बन्द हुन लागेको उद्योगलाई कोभिडले पुनः सञ्चालनमा ल्याए पनि पर्याप्त सिलिन्डर नपाउनु नै समस्या भएको छ,’ उनले भने ।
‘हल्लाको भरमा उपभोक्ताहरुल घरमा सिलिन्डर थुपारेर राख्दा बजारमा अक्सिजनको अभाव भएको देखिएको हो,’ उनले भने, ‘नेपालका लागि पुग्ने अक्सिजन उत्पादन भएकाले आवश्यक परेको समयमा मात्र सिलिन्डर घरमा राख्न अनुरोध गरेका छौं ।’ उद्योगको उत्पादन क्षमता पर्याप्त भए पनि खाली सिलिन्डर नफर्किँदा भने रिफिल गरेर पठाउन गाह्रो हुने उनले बताए ।
हाल संघले उत्पादन भएको ३० प्रतिशत अक्सिजन औद्योगिक क्षेत्रमा दिने गरेको छ । केही गरी अक्सिजनको मात्रा बढी आवश्यक परेको खण्डमा नेपाल सरकारको समन्वयमा संघले त्यताबाट सिलिन्डर ल्याएर स्वास्थ्य क्षेत्रमा दिन सक्ने जनाएको छ ।
अक्सिजन उत्पादनका लागि कुनै समस्या नभएको शंकर अक्सिजन ग्यास प्रालिका प्रबन्धक शम्भु भण्डारीले बताए । ‘पहिले भन्दा उत्पादन बढ्ने क्रममा छ । हाल बजारमा अक्सिजनको अभाव भएको भन्दै हाइलाइट गरियो, त्यो हुँदै होइन,’ उनले भने, ‘त्यस्तो अवस्था आइसकेको छैन ।’ काठमाडौं उपत्यकामा मात्रै ८ वटा प्लान्टले उत्पादन गर्ने भएकाले अभावको अवस्था नआउने उनले दाबी गरे ।
‘अक्सिजनको अभाव हालसम्म भएको छैन । हाम्रो उद्योगको मात्रै दैनिक १२ सयदेखि १५ सय सिलिन्डर उत्पादन गर्ने सक्ने क्षमता छ,’ उनले भने, ‘पहिले १५ हजार सिलिन्डर थियो । कोभिड सुरु भएपछि एक हजार सिलिण्डर थपेका थियौं। समय र बजारको मागअनुसार थप्दैछौं ।’ दुइवटा प्लान्टबाट उत्पादन भइरहेको उनले बताए । ुसामान्य अवस्थामा दैनिक २ सय सिलिण्डर पनि खपत हुँदैन,’ उनले भने ।
उपत्यकासँगै बाहिर भैरहवा र नारायणगढमा पनि अक्सिजनको उत्पादन भइरहेको छ । नेपाली उद्योगको उत्पादन क्षमताअनुसार अक्सिजन खपत नभएको उद्योगीको भनाइ छ । गत कात्तिकमा कोभिड संक्रमित बढ्दा अक्सिजनको माग ह्वातै बढेको थियो । पछि संक्रमण दर कम हुँदै जाँदा अक्सिनजको मागमा कमी आएको थियो । त्यसैले अहिल्यै अक्सिजनका लागि चिन्तित हुनुपर्ने अवस्था नभएको भण्डारीको भनाइ छ ।
- बिजमाण्डू