टुडेखोज, लहान । बजेट अभावका कारण सिरहामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य प्रभावित बनेको छ । प्रदेश सरकारले बजेट उपलब्ध नगराएका कारण कोरोना रोकथाम तथा नियन्त्रणको कार्य प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले विभिन्न शिर्षकमा प्रदेश सरकारसँग ४७ लाख रुपैया माग गर्ने निर्णय चारदिन अगाडी नै गरियो । डिसिसिएमसीका संयोजक समेत रहेका प्रजिअ कणेलले भने, ‘बजेट माग गरेका छौं । तर अहिलेसम्म पठाएको छैन ।’ बजेट कहिले उपलब्ध गराउने कुरा प्रदेश सरकारलाई नै थाहा होला– उनले थपे ।
डिसिसिएमसीले जोखिम न्यूनिकरणका लागि २० लाख, सिआइसिटी मोविलाइजेशन शिर्षकमा १० लाख, अत्यावश्यक औषधी खरिद गर्न २० लाख र एम्बुलेन्स तथा शव वाहन परिचालन गर्न ७ लाख रुपैया प्रदेश सरकारसँग माग गरेको छ । प्रदेश सरकारले भने रकम कहिले उपलब्ध गराउने कुरा समेत जानकारी गराएको छैन ।
सिरहा अस्पतालमा अहिले मात्र २६ आइसोलेशन बेड तयार भएको छ । यसबारेक जिल्लाका अन्य ठाउँमा आइसोलेशन बेड छैन । जबकी सिरहामा सोमवार मात्रै २२ जनामा कोरोना पुष्टि भयो । यही संख्यामा संक्रमित बढ्दै गयो भने जिल्लामा भयावह अवस्थाको सृजना हुनेछ । तर बजेटको अभावमा आइसोलेशन बेड बढाउन नसकिएको प्रजिअ कणेल बताउँछन् ।
आइसोलेशन सेन्टर बनाउनमा स्थानीय तहहरुले लगानी गर्न चाहेका छैन । डिसिसिएमसीको सोमवार बसेको बैठकले सबै स्थानीय तहलाई कम्तिमा २ सयजना अट्न सक्ने क्वारेन्टिन र अक्सिजनसहित ५ वेड क्षमताको प्रारम्भिक आइसोलेशन वेड तयारी गर्न निर्देशन दिएको बताए । स्थानीय तहलाई आवश्यक पर्ने औषधी, जनशक्ति, सामग्री र स्वास्थ्य उपकरणहरुको पर्याप्त बन्दोबस्त निमालाउन समेत निर्देशन दिएको उनको भनाई छ ।
प्रदेश सरकारले बजेट उपलब्ध गराउन ढिलो गरेकाले सबै स्थानीय तहलाई १ लाख रुपैयाका दरले आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिएको छ । निर्णय अनुसार कोभिड कोषबाट एक लाख रुपैयाका दरले सबै स्थानीय तह कोष तथा लेखा नियन्त्रण कार्यालय, सिरहाको विविध खाता नं. ख ६ मा पठाउनेछ ।