जनकपुरधाम : कोरोना संक्रमण तीब्र गतिमा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञाको आदेश जारी गरेको छ । वैशाख १६ गते बिहीवार विहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्मका लागि पर्सा जिल्लाभर निषेधाज्ञाको आदेश प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले दिएका हुन् ।
निषेधाज्ञाका बेला हिडडुल गर्न पाइने छैन । अत्यावश्यक कामका लागि कतै जानु परेमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । विवाह, ब्रतबन्ध र मृत्यू संस्कारका लागि पनि अनुमति लिनुपर्ने बताइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशको पूर्णपाठ :
विश्वब्यापी महामारीको रुप लिईरहेको कोभिड-१९ को नयाँ भेरियन्ट सहितको संक्रमणको महामारीबाट पछिल्ला केही दिन यता पर्सा जिल्ला पनि नराम्रोसँग प्रभावित भईरहेको हुँदा उक्त संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको मिति २०७८/०१/१४ गतेको निर्णय समेतका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी पर्सा जिल्ला भरी यही मिति २०७८/०१/१६ गते विहान ४:०० बजे देखि मिति २०७८/०१/२२ गते राती १२:०० बजेसम्म लागु हुने गरी देहाय बमोजिमको आदेश जारी गरिएको छ । यो आदेशको पालना गर्नुरगराउनु सम्बद्ध सबैको कर्तब्य हुनेछ । कोही कसैले यो आदेशको बर्खिलाप हुने गरी काम कारवाही गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सबैलाई जानकारी गराईन्छ ।
देहाय
- औषधी उपचार एवं यस आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पाईने छैन ।
- सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, आदी सञ्चालन गर्न पाईने छैन । विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालय, पर्साबाट अनुमती लिएर मात्र गर्न पाईने छ ।
- मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोर मैला ब्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षिको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको ब्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमती प्राप्त (पास) सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका नीजि तथा सार्वजनिक यातायातका सवारी साधनहरु (दुई पाङ्ग्रे समेत) सञ्चालन गर्न पाईने छैन ।
- खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र ब्यवसाय बाहेक अन्य सबै पसल, ब्यवसाय हाललाई सञ्चालन नगर्ने । खाद्य वस्तुका पसल, ब्यवसायहरु विहान १०:०० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरीरगराई खोल्न पाईने छ ।
- बीरगंज ईनर्वा नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमन पूर्ण रुपमा रोक लगाईएको छ ।
- यस जिल्लाको ईनर्वा सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्नेछ ।
अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक एवं नीजि सेवा प्रवाह हाललाई स्थगन गरिएको छ । - अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्था समेतका) कर्मचारी एवं सञ्चारकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवत जावत गर्नुपर्ने छ ।
- मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यमा र विकास निर्माणका आयोजनासँग सम्बन्धित सामग्री एवं जनशक्तिले प्रयोग गर्ने सवारी साधनहरु जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र सत्र्चालनमा ल्याउन सकिने छ ।
यस सम्बन्धमा आवश्यकता अनुसार थप सूचना जारी हुन सक्नेछन ।
पिताम्बर घिमिरे, प्रमुख जिल्ला अधिकारी