एजेन्सी, नयाँदिल्ली : भारतमा पहिलो पटक एकैदिन कोरोना भाइरसका ३ हजार बढी संक्रमितले ज्यान गुमाएका छन् । टाइम्स अफ इन्डियाका अनुसार मंगलबार भारतभरि ३ हजार २ सय ८६ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ लाख पार गरेको छ। अहिलेसम्म भारतमा कोरोनाबाट २ लाख १ हजार १ सय ६ जनाको ज्यान गएको छ ।
कोरोनाबाट सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउनेमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ। त्यहाँ ५ लाख ७२ हजार मानिसको मृत्यु भएको छ। दोस्रो नम्बरमा ब्राजिल (३ लाख ९२ हजार) र तेस्रो नम्बरमा मेक्सिको (२ लाख १५ हजार) छ ।
कोरोनाबाट २ लाख बढी नागरिकको मृत्यु हुनेको भारत चौंथो मुलुक बनेको छ । भारतमा अझै पनि संक्रमण तीव्र रूपमा बढिरहेकाले मृत्युदर पनि बढ्नेछ । मंगलबारमात्र भारतमा एकैदिन ३ लाख ६२ हजार संक्रमित थपिएका छन् ।
पछिल्ला सात दिनदेखि भारतमा हरेक दिन ३ लाख बढी संक्रमित थपिएका छन् भने २ हजार बढी मानिसले ज्यान गुमाएका छन् । कतिपय विज्ञहरूले भारतमा सरकारी तथ्यांकमा देखाएभन्दा धेरै नै मानिसहरूको कोरोनाबाट मृत्यु भएको हुन सक्ने बताएका छन् ।