टुडेखोज, काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई खाली सिलिन्डर घरमा नराख्न आग्रह गरेको छ ।
कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै संघले उपभोक्तालाई खाली सिलिन्डर भरेर राख्न आग्रह गरेको हो । ग्यासको मौज्दात बढाउन उपभोक्तालाई खाली सिलिन्डर भरेर राख्न आग्रह गरेको नेपाल एलपी ग्यासको अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
‘उपभोक्ताले खाली सिलिन्डर भरेर राखे भने हामी पनि मौज्दात बढाउन सक्छौं,’ उनले भने, ‘बुलेट र भएका सिलिन्डर भरेर राख्छौं, ग्यासको अभाव चाहिँ हुदैँन ।’
सुरक्षा मापदण्ड अपनाएर ग्यास सहज रूपमा वितरण गरिने छ । ग्यास लगायत अन्य कुनै पनि अत्यावश्यक इन्धनको अभाव नहुने नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।
‘मागअनुसार बिक्री वितरण गरी मौज्दात राख्न हामीले सबै डिपोलाई पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘अभाव हुँदैन, आत्तिनु पर्दैन ।’