काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
प्रचण्डको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार सीताको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार विहानै मेडिसिटी अस्पताल लगिएको हो । तर, मंगलबार बेलुका स्वास्थ्यमा कुनै सुधार नआएपछि आईसीयूमा राखेर उपचार गरिएको छ ।
उनी पार्किन्सन्स्जस्तै जटिल रोग पीएसपी (प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी)बाट पीडित छन् । ‘हिजो बेलुकादेखि उहाँलाई मेडिसिटीको आईसीयूमा राखेर उपचार गरिएको छ,’ पारिवारिक स्रोतले भन्यो ।
छोरी गंगा दाहालले आमालाई दुई दिनदेखि शरीरमा सोडियमको कमी र पिसावमा ईन्फेक्सन (संक्रमण) भएका कारण अस्पताल भर्ना गरिएको बताएकी छन् ।
‘अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ। चासो व्यक्त गरी स्वास्थ्य लाभ र शुभेच्छा प्रदान गर्नुहुने सवैमा आभार तथा धन्यवाद,’ उनले सामाजिक सञ्जालमा भनेकी छन् ।
यसअघि पुस १५ गते पनि सीताको स्वास्थ्यमा थप समस्या आएपछि सोही अस्पताल भर्ना गरेर उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि त्यसलगत्तै भारतको नयाँदिल्ली लगेर एकसाता राखी उपचार गरिएको थियो ।
दाहाल ०७४ को दसैँअघि पहिलोपल्ट गम्भीर बिरामी परेकी थिइन्। सोही वर्षको मंसिर ३ गते उनका छोरा प्रकाशको निधनपछि उनी गम्भीर बिरामी परेकी हुन् ।
यसअघि उपचारका लागि प्रचण्डले २०७५ साउनमा सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगेका थिए । सो अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भएको पुष्टि गरेको थियो ।
त्यसपछि बिभिन्न अस्पतालमा उपचार गराउँदै आए पनि उनको स्वास्थ्यमा सुधार भएको छैन । २०७५ चैत ३ गते अमेरिकाको जोन हकिन्स अस्पताल लगेर पनि उपचार गराइएको थियो ।
यस्तै २०७६ साउनमा यूएईस्थित एक अस्पताल र पुसमा भारतको हरिद्वारमा रहेको पतञ्जली योगपिठमा आयुर्वेदिक विधिबाट पनि सीताको उपचार गरिएको थियो ।
– नेपालखबर