टुडेखोज, काठमाडौं : सरकारले आज मात्रै मधेस आन्दोलनका क्रममा १२० जनामाथि लागेको मुद्दा फिर्ता लिएको छ । जसपाको आग्रहमा सरकारले उनीहरुमाथि लगाइएको मुद्दा त फिर्ता लियो । तर साँसद रेशम चौधरीमाथि मुद्दा फिर्ता हुने सम्भावना छैन ।
महान्यायाधीवक्ता रमेश बडालले जसपाका नेता रेशम चौधरीको मुद्दा फिर्ता नहुने दावी गरेका छन् । बुधबार आफ्नै कार्यालयमा पत्रकारसँग भने, ‘संविधान र कानुनअनुसार चौधरीको मुद्दा फिर्ता हुँदैन ।’
सरकारले चौधरीको मुद्दा फिर्ता लिन मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ को (८)ले नदिने उनको भनाई छ । उक्त संहितामा भनिएको छ, ‘पुनरावेदन, साधक जाँच वा पुनरावलोकनको रोहमा वा मुद्दा दोहोर्याउने अवस्थामा विचाराधीन रहेको मुद्दा फिर्ता लिन सकिने छैन ।’
जसपाले भने रेशम चौधरीलगायत आफ्ना अरू नेता कार्यकर्ताको मुद्दा फिर्ता गरी रिहाइ समेत गर्न माग गर्दै आएको छ ।
संविधान बन्नुअघि नागरिकता, एक मधेश एक प्रदेश लगायत माग राख्दै भएको आन्दोलनमा हिंसा भड्किएपछि कैलालीको टीकापुरमा सात सुरक्षाकर्मी र एक नाबालक मारिएका थिए । त्यही घटनामा चौधरी लगायत जसपाका केही कार्यकर्ता जेलमा छन् ।
त्यस्तै, विप्लव माओवादीका विष्फोटक पदार्थसम्बन्धी मुद्दा पनि फिर्ता गर्न नमिल्ने उनले बताएका छन् ।