कोरोना भाइरस महामारीको दोस्रो लहरबाट अति प्रभावित भएको भारतको सहयोगका लागि संयुक्त राष्ट्रसंघले विश्व समुदायसँग अपिल गरेको छ ।
संयुक्त राष्ट्रसंघको ७५ औँ महासभाका अध्यक्ष वोल्कान बोजकिरले भारतमा कोभिड–१९ महामारीको भयावह अवस्थालाई देखेर अत्यन्त दुःखी भएको बताएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘भारत त्यो देश हो जसले मुश्किल समयमा ती देशमा पनि खोप दियो, जहाँ खोपको व्यवस्था गर्न सहज थिएन । अब पालो दुनियाँको हो कि उनीहरुले भारतको मद्धत गरुन् । जबसम्म सबै सुरक्षित हुँदैनन् तबसम्म कोही सुरक्षित हुँदैन। मेरो समवेदना भारतीयहरुसँग छ ।’
संयुक्त राष्ट्रसंघ महासभामा भारतका प्रवक्ता ब्रेनदेन वर्माले भनेका छन्, ‘भारतले खोपका लागि विभिन्न देशलाई धेरै सहयोग गरेको छ । अब विश्वले भारतलाई सहयोग गर्नु पर्ने बेला आएको छ । भारतले कोरोनासँगको युद्ध पक्कै जित्ने छ ।’
दैनिक साढे तीन लाख भन्दा धेरै संक्रमित थपिएको तथा तीन हजार मानिसको ज्यान गइरहेका बेला भारतलाई अमेरिका, जापान, सिंगापुर, बेलायत, अस्ट्रेलिया तथा खाडी देशले सहयोग गरिरहेका छन् ।
साउदी अरेबिया, युएई, कुवेत, कतारसहितका देशले भारतलाई अक्सिजन आपूर्तिमा सहयोग गरिरहेको छ । भारतमा बुधबारदेखि १८ वर्षमाथिका सबैलाई कोरोना भाइरसको खोप लगाउने प्रक्रिया सुरु गर्नका लागि दर्ता गर्ने क्रम सुरु भएको छ ।