अजमल मिकरानी, सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका वडा नं. ५ हेमपुर स्थित रनिया टोलका सुकुम्बासीहरु आन्दोलित भएका छन् । विगत ४ दशक देखि बसोबास गर्दै आइरहेको ऐलानी जग्गाबाट हटाएर घरबार विहिन बनाउन खोजेपछि उनिहरु आन्दोलित भएको हो ।
साबिकको हेमपुर–९ र हालको कबिलासी नगरपालिका–५ हेमपुर बस्ने सिताराम यादवले हाल सुकुम्बासीहरु घर डोजर लगाए भत्काएपछि सुकुम्बासीहरु आन्दोलित भएको हो । सडकदेखि पुर्वपट्टीको १ कठ्ठा जग्गा आफ्नो नामा रहेको दाबी गर्दै जग्गा सुकुम्बासीहरुले कब्जामा लिएर घर बनाएको भन्दै उक्त घरहरु भत्काउन बस्तीमा डोजर लगाएपछि सुकुम्बासीहरु आन्दोलनमा उत्रिएका हुन् ।
यादवले सुकुम्बासीहरुले आफनो जग्गामा जबर्जस्ती घर बनाएर कब्जा गरेको भन्दै जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता गराएका थिए । जिल्ला अदालतले सडक छेउको उक्त जग्गा ऐलानी रहेको र जग्गामा भूमिहिन सुकुम्बासीहरु २०३५ सालदेखिनै घर बनाएर बस्दै आएकोले नहटाउन आदेश दिएको थियो ।
यादवले दावी गरेको सडकदेखि पुर्वतर्फको १ कठ्ठा जग्गा समेत ब्यक्तिको नाममा नभइ ऐलानी भएकोले घरहरु नहटाउन भनी फैसला सुकुम्बासीहरुको पक्षमा आएको थियो ।
फैसला आफ्नो पक्षमा नआएपछि यादवले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । उच्च अदालतले यादवको पक्षमा निर्णय गरेपछि सुकुम्बासीहरु उच्च अदालतको निर्णय बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उच्चा अदालतको निर्णयलाई सर्बोच्चले खारेज गरेको आन्दोलित सुकुम्बासीहरुको दावी छ । तर यादवले सर्बोच्चले सुकुम्बासीहरुको हकमा गरेको फैसला तथा घर नहटाउने आदेशलाई लत्याएर पहुँच र पैसाको बलमा बस्तीमा डोजर लगाएका छन् ।
जिल्ला अदालत सर्लाहीका केही कर्मचारीलाई आफुतर्फ मिलाएर नेपाल प्रहरी तथा सशस्त्र प्रहरीहरुलाई समेत प्रयोग गरि डोजर मगाएर सुकुम्बासी बस्ति भत्काउन खोजेको नेपाल बसोबास बस्ती संरक्षणका केन्द्रीय सदस्य प्रमोद पासवानले बताए ।
नेपालको ऐन कानुनले पनि दश वर्षदेखि लगातार एकै ठाउँमा बस्दै आएका सुकुम्बासीहरु लाई लालपुर्जा दिनुपर्ने व्यवस्था गरेको छ । तर नगरपालिकाले नगर क्षेत्रभित्रको कुनैपनि ठाउँमा उनीहरुको बसोबासको लागि हालसम्म कुनै व्यवस्था गरेको छैन ।
सुकुम्बासी बस्तीमा १ सय ६० दलित घरपरिवारहरुको बसोबास रहेको छ । छाक टार्न समेत समस्या हुने भूमिहिन सुकुम्बासीहरुलाई बास खोसिने त्रासले निन्द्रा हराएको छ ।