सिरहा : जिल्ला प्रशासन कार्यालय (सिडिओ कार्यालय) सिरहाले अबदेखि स्थानीय तहगत आलोपालो सेवा प्रदान गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै आलोपालो प्रणालीमा सेवा दिइने भएको हो ।
जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी गर्दै १६ गतेदेखि नै लागू हुने गरी आलोपालो सेवा प्रवाह गर्ने जनाएको छ । नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि लिन आउनेको चाप बढी भएको भन्दै आलोपालो विधि लागू गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।
आलोपालो विधि अन्तर्गत कर्जन्हा र मिर्चैया नगरपालिकाको सबै वडाका सेवाग्राहीले आइतबार सेवा पाउनेछन् भने सोमबार कल्याणपुर नगरपालिका र लक्ष्मीपुरपतारी गाउँपालिकाको ६ नम्बर वडाबाहेक सबै वडाका सेवाग्राहीले सेवा पाउनेछन् ।
मंगलबार गोलबजार नगरपालिका, अर्नामा र नरहा गाउँपालिकाको सबै वडाहरू, बुधबार धनगढीमाई नगरपालिकाको १२, १३, १४ नम्बरबाहेक सबै वडा, सुखिपुर नगरपालिकाको सबै वडा र बिष्णुपुर गाउँपालिकाका वडामा सेवाग्राहीले सेवा पाउने सूचनामा उल्लेख छ ।
बिहीबार औरही, बरियारपट्टी र नवराजपुर गाउँपालिकाको १ नम्बर वडाबाहेक सबै वडाका सेवाग्राहीले सेवा पाउनेछन् । शुक्रबार भने सिरहा नगरपालिकाका सबै वडाका सेवाग्राहीलाई सेवा दिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।
तोकिएको दिनबाहेक अन्य दिनमा जाने सेवाग्राहीले सेवा नपाउने प्रशासनले जनाएको छ । तर, अत्यावश्यक कामका लागि आउने सेवाग्राही तथा वृद्धवृद्धा र फरक क्षमताका व्यक्तिलाई जतिबेला पनि प्राथमिकता दिइने प्रजिअ कँडेलले बताए ।
– शिलापत्र