राजविराज : सप्तरीको राजगढ गाउँपालिका २ स्थित सीमा इलाकाबाट बैशाख १६ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको विष्णुपुरा गाउँपालिका ७ बस्ने २८ वर्षिय अभिमन्यु कुमार र सोही जिल्लाकै राजविराज नगरपालिका ८ बस्ने ४३ वर्षिय गज्जु दास छन् ।
भारतबाट स ४ प ३४९७ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजाल्याव ६५ वटा, फेनारागन ७५ वटा, लुपिजेसिक ६५ वटा र नाईट्रोभेट ट्याब्लेट ५० वटा फेला परेपछि पक्राउ गरिएको हो ।
त्यसवेला एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको एपीएफले जनाएको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको सशस्त्रले जनाएको छ ।