कञ्चनपुर : कञ्चनपुरको महाकाली अस्पतालमा एकैदिन दुई शिक्षक सहित तीन जनाको ज्यान गएको छ । दोधाराचाँदनी नगरपालिका ७ बाबाथान लक्ष्मी माविका प्रध्यानाध्यापक शिक्षक लोकराज भट्ट र भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित भृकुटी माविकी शिक्षिका मञ्जु केसीको मृत्यु भएको हो ।
लक्ष्मी माविका प्रअ दुई दिनअघि मात्रै अस्पतालमा बिरामी भएपछि उपचारका लागि आएका थिए । उनी १५ बैशाखसम्म सहकर्मीसंग टिपिटी तालिममा सहभागी थिए । सामान्य रुघाखोकी लागेर श्वासप्रश्वासमा समस्या भएपछि उनी उपचारका लागि बिहीबार महाकाली अस्पताल गएको मृतक शिक्षकका सहकर्मी डम्बरराज जोशीले बताए ।
‘हामी टिपिटी तालिमासंगै थियौँ । उहाँलाई एक्कासी समस्या भयो, ‘शिक्षक जोशीले भने, ‘बिरामी भएर अस्पताल पुगे, अस्पतालमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो, अस्पतालमा आईसियू बेड भरिभराउ थिए, थप उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पताल लैजान खोजे, शुक्रबार बिहानदेखि दिउँसोसम्म २१ एम्बुलेन्सलाई फोन गरेर कसैले जान मानेन् ।’
‘अन्तिमतिर दिउँसो पाइएको एम्बुलेन्समा अक्सिजन थिएन त्यस्तै लगेर गए, बीचबाटोमै अक्सिजन नपाएर उनको मृत्यु भयो, हामी शिक्षकमाथि राज्यको यत्रो अन्याय ग-यो ,’ उनले भने ।
कञ्चनपुरका शिक्षकलाई कोरोना खोप समेत नलगाएको र सयौँको भिडमा पढाउनुपर्ने बाध्यता रहेको बताउदै उनले शिक्षकले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको बताए । तीन दिनअघि बिरामी भएकी भुकुटी माविकी शिक्षिकका पनि अक्जिसन र उचित उपचार अभावमा ज्यान गएको छ ।
उनका आफन्त शिक्षक सहकर्मीले सरकारको लापरबाहीका कारण कोरोनाको शिकार शिक्षक पनि भइरहेको बताएका छन । भृकुटी माविका सहायक प्रअ बिरेन्द्र प्रशाद भट्टले शिक्षकलाई एक खोप पनि नदिएको र बिरामी हुँदा समेत मृत्युकै मुखमा पुग्नुपर्ने बाध्यता रहेको बताए । ‘हामीले सहकर्मी गुमाएका छौँ, ‘उनले भने, ‘मुलुकमा यत्रो महामारी हुँदा समेत सरकारले नागरिकको स्वास्थ्यमा चासो दिएको छैन ।’
महाकाली अस्पतालमा उपचारार्थ संक्रमितको धमाधम ज्यान गरहेको छ । लगातार दुई दिनमा एक महिला सहित ८ जनाको मुत्यु भएको महाकाली अस्पतालले जनाएको छ । कञ्चनपुरका कोरोना रोकथामका लागि प्रभावकारी पहल नहुँदा नागरिकले अकालमै ज्यान गुमाइरहेका छन ।
कोरोना महामारी तिव्र रुपमा अघि बढिरहेका बेला संक्रमितले कञ्चनपुरको महाकाली र कैलालीको सेती अस्पताल भरिभराउ भएका छन । दुवै अस्पतालमा आईसियू बेड सहित एचडियू, आइसोलेशन भरिभराउ भएका छन । नयाँ र सिकिस्त बिरामीले बेड पाउने अवस्था छैन ।