अमेरिका राष्ट्रपति जो बाइडन प्रशासनका चिकित्सा सल्लाहकार तथा प्रख्यात महामारी विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले भारतमा कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल केही हप्ताको लकडाउन जरुरी रहेको बताएका छन् ।
उनले केही देशहरुले लकडाउन नचाहेका भए पनि भारतमा तुरुन्तै गरिने केही हप्ताको लकडाउनले संक्रमणको चक्र तोड्न सक्ने बताएका हुन् । त्यसपछि भारतलाई कठिन र निराशाजनक स्थितिबाट बाहिर निस्कनका लागि तात्कालीक, मध्यवर्ती र दीर्घकालीन महत्वपूर्ण कदम उठाउन समय मिल्ने उनको दाबी छ ।
डाक्टर फाउची अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ हुन् । उनले अमेरिकाका सात राष्ट्रपतिसँग काम गरिसकेका छन् । अंग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसलाई दिएको एक साक्षात्कारमा उनले भारतको कोरोना महामारीको अवस्थाबारे कुरा गरेका हुन् ।
उनले अहिले विश्व समुदायले भारतलाई सहयोग गर्नुपर्ने बताएका छन् । महामारीको सुरुवाती समयमा भारतले अरु राष्ट्रलाई सहयोग गरेर उदारता देखाएको उनले बताए । भारतमा चीनले जस्तै तुरुन्तै अस्पताल निर्माण र स्वास्थ्यकर्मीको परिचालन गरिनुपर्ने उनले बताएका छन् ।