बर्दिवास : गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना संक्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।
जिल्लाको मनरासिस्वा नगरपालिका ९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।
गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट ज्यान गएकोमा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
मलामीमा गएका ६०र७० जनामध्ये ४५ जनाले पीसीआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यता, जलेश्वर नगरपालिकामा आईतवार राति कोरोनाबाट दुई जनाको ज्यान गएको छ ।
भारतबाट आवागमन खुल्ला रहेको अवस्थामा भारतमा आफ्ना नातेदार कहाँ बिहेमा सहभागी जलेश्वर नगरपालिका २ का ५५ वर्षीय एक महिलाको काठमाडौँमा उपचारका क्रममा ज्यान गएको हो ।
त्यस्तै जलेश्वर नगरपालिका २ की एक महिलाको पनि धरानमा उपचारका क्रममा ज्यान गएको छ ।
यसअघि महोत्तरीको विभिन्न ठाउँमा कोरोना संक्रमण्बाट ५ जनाको ज्यान गइसकेको छ ।