जनकपुरधाम : प्रदेश २ सरकारले कोरोना महामारीसंग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप गरेको छ ।
मन्त्री परिषद्को आज सम्पन्न बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३ , प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागि ३२–३२, लहान अस्पतालका लागी २३ र भारदह तथा पोखरिया अस्पतालका लागी १५–१५ दरबन्दी थप गर्ने निर्णय गरेको छ ।
कोरोना विशेषका लागि थप गरिएको दरबन्दीहरुमा एनेस्थेसियोलोजिष्टदेखि स्वीपरसम्मको पद छ । थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ ।
यस्तै मन्त्रीपरिषद्ले जनकपुरको मणिपालमा निर्माण गर्न लागेको विशेष कोभिड अस्पतालको लागि थप २२७ दरबन्दी स्वीकृत गरेको छ ।
प्रदेश सरकारले मणिपालमा २० बेड आइसियुसहित १०० बेडको बिशेष कोभिड अस्पताल निर्माण गर्ने भएको छ ।
त्यस्तै बैठकले कोरोना महामारीसंग जुध्न प्रदेश सरकारका मन्त्रीहरुलाई जिल्ला –जिल्लाको जिम्मेवारी दिँदै फोकल मन्त्री समेत निर्धारण गरेको छ ।
सप्तरी जिल्लाका लागि भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहाका लागि आर्थिक मामिला तथा योजना विजयकुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, सर्लाही र रौतहटका लागि उद्योग पर्यटन तथा वनमन्त्री राम नरेश राय र बारा तथा पर्साका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।
जिम्मेवारी तोकिएका मन्त्रीहरुले सम्बन्धित जिल्ला र प्रदेश सरकारबीच कोरोना महामारी नियन्त्रणका लागि पूलको रुपमा काम गर्ने भएका छन् ।
बैठकले यसअघि पिसिसिएमसीको बैठकले गरेका निर्णयहरुलाई अनुमोदन समेत गरेको छ ।