जनकपुरधाम : नेकपामा माओवादीले धनुषाका एक मेयर तीन उपमेयरलाई पार्टीबाट निष्कासन गर्ने प्रक्रिया थालेको छ ।
पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै उनीहरूलाई हिजो पार्टीको जिल्ला समिति धनुषाले तीन दिने स्पष्टिकरण मागेको छ । विदेह नगरपालिकाका प्रमुख बेचनदास तत्मा, उपप्रमुख निलमदेवी मण्डल शहिदनगर नगरपालिका उपप्रमुख शिला देवी कापर र सबैला नगरपालिका उपप्रमुख निलुदेवी कापरलाई स्पष्टिकरण सोधिएको छ ।
पत्रमा उहाँहरूलाई २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले टिकट दिएको स्मरण गराइएको छ । तर, २३ फागुन २०७७ को फैसलापछि पार्टी एकिकरण रद्द भएर पुनः माओवादी केन्द्र नै ब्यूँतिए पनि पार्टीका कुनै कार्यक्रममा सहभागी किन नभएको भनेर सोधिएको छ ।
माओवादीले सोधेको स्पष्टिकरणमा मुख्य गरी तीन वटा विषय उठाइएको छ । पहिलो सर्वोच्च अदालतको निर्णयअनुसार पार्टी पुरानै अवस्थामा फर्के पनि पार्टीको कार्यक्रममा तपाईंको सहभागिता के कति कारणले भइरहेको छैन ? दोस्रो तपाईं आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा के कति कारणले क्रियाशिलता छैन ? र, तेस्रो तपाईंले माओवादी केन्द्र त्याग गरेको हो वा होइन ?



